गगनसँग ३१ दिनदेखि सम्पर्क वा सम्वाद भएको छैन, भ्रमपूर्ण हल्लामा सत्यता छैन : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापासँग ३१ दिनदेखि कुनै सम्वाद नभएको भन्दै सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण हल्लाको पछाडि नलाग्न अपील गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत निवर्तमान कार्यबाहक सभापति खड्काले सामाजिक सञ्जाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारीहरू, नेताहरू र क्रियाशील सदस्य साथीहरू सबैमा आग्रह गरेका छन् ।

नेता खड्काले भने, ‘सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क, संवाद नभएको आज (आइतबार) ३१ दिन भयो ।’

‘२ महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन,’ नेता खड्काले भने, ‘अहिले आएर केही दिनदेखि यता विकसित घटनाक्रमबाट म चिन्तित भएको छु ।’

खड्काले भने, ‘१५औँ महाधिशेनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फोनबाट ४/५ दिनदेखि मलाई साथीहरूले जुन तरिकाले जानकारी गराइराख्नु भएको छ यो प्रबृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ । म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’

‘हामीले १५औँ महाधिबेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अध्यावधिक नगरेको निहुमा कसैलाई १५औँ महाधिबेशनमा भाग लिनबाट कसैले बञ्चित गर्न/गराउन सक्तैन,’ नेता खड्काले भने ।

‘सबैलाई महाधिबेशनमा स्वतः भाग लिन पाउने ब्यबस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो । ढुक्क हुनुस्,’ निवर्तमान कार्यबाहक सभापति खड्काले भने ।

‘नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिनदेखि फैलाइएका अफवाहरू पार्टी पंक्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन्,’ नेता खड्काले भने ।

गगन थापा समूहले शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहका शीर्ष नेताहरूको क्रियाशील सदस्यता स्वतः अध्यावधि हुने भनेर हल्ला फैलाइरहेपछि खड्काले त्यसको खण्डन गरेका छन् ।

Published : Sunday, 2026 June 7, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया