कांग्रेसको अध्यावधिले हावा खाएपछि थपियो समय, देउवा–कोइराला समूहले अध्यावधि नगर्ने
काठमाडौं । सोँचेअनुसार अध्यावधि नभएपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ ।
महामन्त्री प्रदीप पौडेलका अनुसार वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्याइएको छ । पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ ।’
कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको थप विवरणसहित अहिले अद्यावधिक गराइरहेको छ । हालसम्म कतिले अध्यावधि गराएका छन् कांग्रेसले औपचारिक रुपमा जानकारी दिएको छैन । महामन्त्री पौडेल निकटका नेताहरूले दुई लाखभन्दा धेरैले अध्यावधि गरेको दाबी गरेका छन् । तर, सानेपा निकट स्रोतले करीव ६५ हजारले मात्रै अध्यावधि गरेको जनाएको छ ।
महामन्त्री पौडेलले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनबाट आवेदन दिन सकिने गरी खुला गरिएको पनि बताएका छन् ।
२०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए । तीमध्ये गत पुसमा करिब ६ लाखले मात्रै नवीकरण गरेका थिए ।
शेरबहादुर देउवा र डा.शेखर कोइराला निकटका नेताहरूले अध्यावधि नगर्ने जनाएका छन् । १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधि आवश्यक नरहेको देउवा–कोइराला समूहका नेताहरूको भनाइ छ । गगन थापाले आफ्ना विरोधीहरूलाई साइजमा ल्याएर तह लगाउन अध्यावधिका नाममा पार्टीभित्र पेलान गरेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया