ओलीको निर्देशनपछि लुम्बिनीका मुख्यमन्त्रीले हटाए शंकर–विष्णु निकटका ४ मन्त्री
मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका चार जना मन्त्रीहरूको राजीनामा मागेका छन् ।
बुधबार मुख्यमन्त्री आचार्यले आफ्नै पार्टी एमालेका मन्त्रीहरूको राजीनामा मागेपछि चार मन्त्रीहरूले राजीनामा बुझाएका छन् । मुख्यमन्त्री आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री आचार्यको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारु मगर र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्री आचार्यले चार जना मन्त्रीहरूलाई बजेट ल्याउनुभन्दा अगाडि हटाएर एमालेबाटै चार मन्त्रीहरूलाई शपथ गराउने तयारी गरेका छन् । प्रदेश प्रमुख रारा घुम्न गएका कारण उताबाट फर्किएर आउनेवित्तिकै एमालेका चार नयाँ मन्त्रीलाई शपथ गराइनेछ ।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको छ ।
यसअघि जेठको पहिलो साता मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् । लुम्बिनी सरकारबाट राजीनामा माग गरिएका चार मन्त्रीहरू महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका हुन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको खटपट भइरहेका बेला चार मन्त्री परिवर्तन हुन लागेका छन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।
एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।
कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दवाव दिइरहेको भएपनि मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । नेपाली कांग्रेसबाट संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने छन् । एमालेले पूर्व सहमतिअनुसार कांग्रेसका चौधरीलाई मुख्यमन्त्री दिनुपर्ने हुन्छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया