राष्ट्रिय प्रतियोगितामा १८ चेस खेलाडी छनोट

दमक । राष्ट्रिय बी चेस प्रतियोगिताबाट ९ पुरुष र ९ जना महिला खेलाडीसहित १८ जना खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा छनोट भएका छन् ।

शुक्रबार झापाको काँकडभिट्टा, मेचीनगरमा सम्पन्न प्रतियोगिताबाट १८ जना खेलाडी छनौट भएका हुन् । नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा सम्पन्न राष्ट्रिय बी प्रतियोगितामा ६ जना खेलाडीहरूले प्रतिस्पर्धात्मक समान ६–६ अंक जोडेका छन् ।

पूर्व निर्धारित फिडे टाइब्रेक डाइरेक्ट इन्काउण्टर, बुकोल्ज् कट वान र टुका आधारमा प्रोग्रेसिभ ३७.५ प्वाइन्ट प्राप्त गर्दै रिसोन थापा विजयी बन्न सफल भए ।

प्रोग्रेसिभ ३५.५ प्वाइन्ट लिएर कमल श्रेष्ठ द्वितीय, ३४.५ एआईएम अभिक शाह तृतीय, ३४ प्वाइन्टमा धिरेन राई चौथो र ३२ प्वाइन्टमा ज्वाला इम्बुङ्ग पाँचौ भएका छन् ।

समान ५.५ अंक जोडेका ८ जना खेलाडीहरूमध्ये ३९.५ प्वाइन्टका आधारमा मुहान नरसिंह श्रेष्ठ छैटौं, सिएम पुरुषोत्तम चौलागाईं ३८ प्वाइन्ट सातौं, ३७.५ प्वाइन्ट लिएर सिएम शुश्रुत दहाल तथा आशिष फुँयाल छनोट भएका छन् ।

महिलातर्फ पूजा भण्डारी र कृतिसरा अधिकारी दुई जनाको बराबर ५ अंक बन्न पुगेका छन् । नियमका आधारमा टाइब्रेकर २० प्वाइन्ट जोडेर पूजा भण्डारी विजयी बनीन् । १७.५ प्वाइन्ट लिएर कृतिसरा द्वितीय भइन् ।

विनिता कपालीले तेस्रो स्थानमा बाजी मार्न ४ अंक प्रोग्रेसिभ २१ प्वाइन्टको बल जुटाउनु परेको थियो । समान ४ अंक प्रोग्रेसिभ १९ प्वाइन्टमा प्रिया क्षेत्री चौथो, १६.५ प्वाइन्टमा एन्जल महर्जन पाँचौँ स्थान प्राप्त गरिन् ।

समान ३.५ अंकका साथ सुशीला गुरुङ छैटौं, नुमा सुब्बा सातौं, निहाना श्रेष्ठ आठौं र प्रविशा दवाडी नवौं स्थानमा रहेर खेल टुङ्ग्याएका छन् ।

आगामी जेष्ठ २९ गतेदेखि असार ४ गतेसम्म भक्तपुरमा सञ्चालन हुन गइरहेको २६ औँ राष्ट्रिय पुरुष बुद्धिचाल स्पर्धामा नेपाल च्याम्पियन एफएम रुपेश जयसवाल, द्वितीय सिएम पुरुषोत्तम सिलवाल र तृतीय राजन सुवेदीसँगको भेट पक्का गरेका छन् ।

११ औँ राष्ट्रिय महिला बुद्धिचाल स्पर्धामा नेपाल ओमन च्याम्पियन सिन्दिरा जोशी, द्वितीय पुनम प्रसाईं र तृतीय इशा गिरिसँगको भेट सुनिश्चित गरेका छन् ।

नेपाल च्याम्पियनको फम्र्याट अनुसार ९ जना राष्ट्रिय बी छनोट पार गरि वर्तमान नेपाल च्याम्पियन शीर्ष ३ जना खेलाडीसँग राउन्ड रोबिन खेलमा सहभागी भई नयाँ विजेता सहित शीर्ष १२ को वरियता निर्धारण हुनेछ ।

आगामी राष्ट्रिय प्रतियोगिताबाट पुरुष तथा महिला दुबै विधाका शीर्ष चार चार जना तथा वर्तमान नेपाल विजेता एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी समेतले चेसको महाकुम्भ ओलम्पियाडमा सहभागी जनाउने छन् ।

अध्यक्ष हेराकाजी महर्जनका अनुसार नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न खेलका पुरुष र महिला गरि १० जना खेलाडीलाई सेप्टेम्बर १५ देखि २७ सम्म उज्बेकिस्तानको समरकाण्डमा हुने चेसको अन्तर्राष्ट्रिय ४६ औँ चेस ओलम्पियाडका लागि सहभागी गराइने जनाए ।

Published : Friday, 2026 May 29, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया