टीओबी र सुधन गुरुङ दोषी, भदौ २३ गते विद्यार्थीलाई ढाल बनाए, संयमित प्रहरीबाट पछि मात्रै बल प्रयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेनजी प्रदर्शनमा विद्यार्थीलाई ढाल बनाई अर्कै समूहले विध्वंसात्मक कार्य गरेको जनाएको छ ।

बुधबार आयोगद्वारा तयार पारिएको छानविन प्रतिवेदन सार्वजनिक गर्दै भदौ २३ गतेको जेनजी प्रदर्शनमा प्रहरी कर्मचारी उपर नै आक्रमण भएको जनाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश सुरक्षा अधिकारीहरूलाई जानकारी रहेको र उक्त सिद्धान्तलाई पालना गरेको भन्ने समेत जिकिर लिएको पाइयो । माइतीघरबाट ३/४ हजारको सड्ख्याबाट शुरू भएको विरोध प्रदर्शन एक डेड घण्टमा नै २०/२५ हजारको संख्या पुगी प्रहरी व्यारिकेड तोडी निषेधित क्षेत्रतर्फ प्रवेश गरेपछि सो भिडलाई व्यवस्थापन गरी शान्तिसुव्यवस्था कायम गर्न लाठी चार्ज, अश्रु ग्याँस, पानीका फोहोरा आदि जस्ता विकल्प प्रयोग गर्दा पनि कुनै उल्लेख्य उपलब्धि नदेखिएको ।’

‘विद्यार्थीलाई ढाल बनाई अर्कै समूहले विध्वंसात्मक कार्य गरेको, प्रहरी कर्मचारी उपर नै आक्रमण हुन थालेको र संसद् भवनको चारै तर्फबाट प्रदर्शनकारीहरू प्रवेश गरी तोडफोड तथा आगजनी गर्न शुरु गरेको, प्रदर्शनमा घुसपैठ भई संसदका कंक्रिटका पर्खालहरू भत्काएको, संसद परिसरमा ४० हजार लिटर डिजेल जस्ता प्रज्ज्वलनसिल पदार्थ भण्डारण भएकोमा सो भवन समेत सुरक्षा गर्नु सुरक्षा फौजको दायित्व रहेको, जनधनको सुरक्षा र आत्मरक्षाको लागि समेत अन्तिम विकल्पको रूपमा बल प्रयोग गर्नु परेको भन्ने सुरक्षाफौजका पदाधिकारीले जिकिर लिएको पाईन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘उक्त प्रदर्शनलाई व्यवस्थापन गर्न राज्य पक्षबाट के कस्ता उपायहरू अवलम्बन गरिए, ती उपायहरू प्रचलित नेपाल कानून तथा बल प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्दान्त तथा मानव अधिकार सम्बन्धी सिद्धान्त अनुकूल थिए, थिएनन् ? भन्नेतर्फ विचार गर्दा सुरक्षा फौजले दिएको टाइम लाइन, सुरक्षा अधिकारीहरूले गरेको वयान, तत्काल गरेका सञ्चारका सम्वाद, सुरक्षा फौजका पदाधिकारीहरू र प्रमुख जिल्ला अधिकारी समेतको बयान समग्रमा अध्ययन गर्दा कानून कार्यान्वयन गर्ने अधिकारीले बल प्रयोगर गोली गट्ठाको प्रयोग सम्बन्धी आधारभूत सिद्धान्त पानीको फोहोरा प्रयोग भएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

‘अश्रु ग्याँसका कारण आक्रोशित भिडले बीआईसीको १ नं. गेट अगाडि ढुङ्गामुढा शुरु गरी एपीएफको वाटर क्यानन् तोडफोड गरी वाटर क्याननको छतमा चढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसै अवस्थामा सुरक्षा निकाय लगायत जेनजी अगुवाहरूले समेत आक्रोशित भिडलाई सम्झाई बुझाई गरी फर्कन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको देखिन्छ ।’

‘यसै अवस्थामा करिब मध्यान्हतिर प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिएको र कफ्र्यू आदेश जारी गरेको देखियो,’ आयोगको छानविन प्रतिवेदनमा भनिएको छ, ‘यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा उक्त स्थानमा टीओबी लेखिएका कालो टीशर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपको प्रवेशपश्चात माथि प्रकरण नं. ३ मा उल्लेख गरिएअनुसार विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयूवा जेनजीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा (जेनजी) विद्यार्थीलाई ढाल बनाइ सुरक्षाकर्मीहरूमाथि नै ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयास समेत गरी धन जनको क्षति पु¥याएको स्पष्ट हुन आयो ।’

‘त्यस्तै गरी एम्बुलेन्स, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन गर्न गएको सवारी साधन समेत तोडफोड तथा आगजनी गरी कर्मचारीहरूलाई कुटपिट तथा दुर्व्यवहार गरेको समेत पाइयो,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई योजनाबद्ध तवरवाट उक्साई, आक्रोशित बनाई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्ने टीओबी लेखिएका कालो टिशर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाईकर ग्रुपका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरूसँग के कस्तो सम्बन्ध रहेको छ ? झडप भइ हुलदड्गामा परिणत भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘तत्पश्चात मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्याँस र भाद्र २३ गते बिहान करिब १०ः३० बजे अन्दाजी ३०००/३२०० जनाको संख्यामा प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र शुरू गरिएको र्‍याली केही समयभित्र नै सो परिधि र क्षेत्र नाघि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि आइपुगेको, तत्पश्चात प्रदर्शनकारीहरूको संख्या बढेर २०/२५ हजार जना भएको, सोही समयमा टीओबी लेखिएका कालो टिशर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरू आएर भीडलाई अगाडि बढ्न उत्तेजक बनाएको देखिन्छ ।’

‘एभरेष्ट होटल अगाडि अन्दाजी २०/२५ हजार भीड जम्मा भईसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

आयोगले भनेको छ, ‘यसरी निज गुरुङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदङ्गामा परिणत भएको देखिन्छ ।’

Published : Wednesday, 2026 May 27, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया