प्रधानमन्त्रीलाई उत्तरदायी बनाउनुस्, पूरै नेपालले जवाफ चाहेको छ : कांग्रेसका उपनेता शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले अधिकार प्रयोग गर्न सभामुखलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहले प्रधानमन्त्री, मन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार सभामुखलाई भए पनि प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा बोलाउने विषयमा किन रुलिङ नभएको भनेर प्रश्न गरेका हुन् ।

विपक्षी सांसदले पटक–पटक रुलिङको माग गर्दा पनि सभामुख डोलप्रसाद अर्यालले यसतर्फ चासो नदिएको उनले बताएका छन् ।

‘तपाईंलाई रुलिङ गर्ने अधिकार छ, प्रधानमन्त्रीमाथि । कुनै पनि मन्त्री, प्रधानमन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार छ,’ सांसद एवम् उपनेता शाहले भने, ‘त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ सभामुख महोदय ?’

सांसद शाहले भने, ‘यो सदन जान्न चाहन्छ, तपाईंलाई रुलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेकेको छ ? तपाईं कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ?’

कांग्रेसका सांसद शाहले यो विषयमा पूरै नेपालले जवाफ चाहेको बताएका छन् ।

कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद शाहले प्रश्न उठाउँदा समेत सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेनन् । अर्यालले प्रधानमन्त्रीले छिट्टै संसद्मा आउने तयारी गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री शाहले सदनमा आएर जवाफ दिने विषय आफूले पटक–पटक जानकारी गराएको, प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको सभामुख अर्यालले बताएका छन् ।

Published : Tuesday, 2026 May 26, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया