देउवा दम्पत्तिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्वारा दोस्रो पटक पनि अस्वीकार

काठमाडौं । इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाविरूद्ध रेड नोटिस जारी गर्न दोस्रो पटक पनि अस्वीकार गरेको छ ।

देउवा दम्पतीविरूद्द नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको हो । देउवा दम्पत्तिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ पुर्जी जारी गर्नेदेखि रेड नोटिसका लागि पत्राचार गर्ने कार्य भएको भनेर आलोचना भइरहेका बेला इन्टरपोलले समेत दोस्रो पटक पनि रेडनोटिस जारी गर्न अस्वीकार गरिदिएको छ ।

स्रोतका अनुसार इन्टरपोलको मुख्यालयबाट गत साता पत्र फिर्ता आएको छ । रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिदिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकामा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो । विभागको अनुरोधमा प्रहरीले वैशाख तेस्रो साता इन्टरपोललाई पत्र पठाएका थियो । दोस्रो पटकको पत्रअनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाफ आएको छ । इन्टरपोलबाट प्राप्त पत्र प्रहरीले विभागलाई जानकारी गराइसकेको छ ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि भन्दै चैत २४ गते जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पत्तिविरूद्ध पक्राउ पुर्जी लिएको थियो ।

कानूनी प्रक्रिया नमिलेको भन्दै सोमबार मात्रै सर्वोच्च अदालतले देउवा दम्पत्तिलाई पक्राउ नगर्नु, नगराउनु भनेर अन्तरिम आदेश जारी गरिसकेको छ । देउवा दम्पत्तिलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ पुर्जी जारी भएको टिप्काटिप्पणी भइरहेका छन् ।

Published : Monday, 2026 May 25, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया