गगन-विश्वले पूर्णबहादुरको फोन पनि उठाएनन्, म्यासेजको रिप्लाई गरेनन्, विरोधीलाई कारबाही गरेरै निकाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले अदालतको फैसलापछि बैधानिक रुपमा विवाद टुंगिएको बताउँदै सहमतिका लागि गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेता घिमिरेले भने, ‘गगन थापा र विश्वप्रकाश शर्माले पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा गर्नुभयो । सहजतापूर्ण ढंगले कुरा भयो । भोलि आएर यो कुरालाई टुंगो लगाउने भनेर जानुभएको हो रे । अहिलेसम्म उहाँहरू कुनै सम्वादमा हुनुहुन्न । फोन गर्दा रिसिभ पनि गर्नु हुन्न । म्यासेज गर्दा रिप्लाई पनि गर्नु हुँदैन । कसैलाई किनारा लगाएर पार्टी चल्दैन । त्यो अभ्यास कांग्रेसको होइन ।’

‘राजनीतिक दलभित्रको विवाद कहिल्यै पनि टुंगिदैन । राजनीतिक विवादहरू टुंगिनुपर्छ । समस्याको समाधान आउनु प¥यो ।’

‘राजनीतिक समस्याको समाधान निस्केको छैन । उनीहरूकै भाषामा भन्ने हो भने पनि विशेष महाविधेशन भनेको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भेलाबाट भएको हो,’ घिमिरेले भने, ‘४६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू त्यो भेलाभन्दा बाहिर छन् । उहाँहरूले नै त्यो तथ्य दिइरहनु भएको छ ।’

नेता घिमिरेले भने, ‘त्यो ४६ प्रतिशतलाई जबसम्म समावेश गर्न सकिँदैन तबसम्म राजनीतिक रुपले पार्टी एक भएको सन्देश जाँदैन । पार्टी एक भएको मान्न सकिदैन । पार्टी एक बनाउनको लागि उहाँहरूले २/३ वटा कुराहरू गर्नुपर्छ ।’

‘१४औँ महाधिवेशनबाट निर्वाचित भएका अर्थात् १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई जस्तोको त्यस्तै अहिलेको केन्द्रीय समितिमा राख्नुपर्छ । गगन थापाले बोल्नुभएको छ जस्तोको त्यस्तै राख्छु, सम्मानजनक ढंगले राख्छु भन्नुभएको छ । अझ बरिष्ठ नेता बनाउनुपर्छ भने पनि बनाउँछु, निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील छानविन समितिमा पनि सबै पक्षलाई समावेश गरेर जान्छु भनेर गगन थापाले नै बोल्नुभएको छ,’ नेता घिमिरेले भने, ‘त्यही कुरा कार्यान्वयन गर्ने हो भने पार्टीमा समग्र एकताको वातावरण बनिहाल्छ ।’

‘अरु खास कुरा मागेको के छ ? क्रियाशील सदस्यता अध्यावधिको कुरा आउन सक्छ । त्यो विषय धेरै गम्भीर विषय बन्दैन । त्यो विषयलाई बसेर समाधान गर्न सकिन्छ,’ उनले भने ।

कांग्रेस र कम्युनिस्टहरूको बीचमा अन्तर रहेको बताएका नेता घिमिरेले भने, ‘कांग्रेसभित्र समन्वयको राजनीति चल्छ । समन्वयात्मक राजनीति चल्ने हो । कांग्रेसभित्र फौलादी अनुशासन चल्दैन । आजसम्म त्यो अवस्था छैन । न वीपी कोइरालाको पालामा थियो, वीपी कोइरालादेखि लिएर शेरबहादुर देउवाको पालासम्म त्यो अवस्था रहेन । कांग्रेसको त्यो परम्परा पनि होइन ।’

‘कसैले फौलादी अनुशासन कायम गराएर पार्टी चलाउँछु भन्यो भने त्यो अतिरञ्जना हुन्छ । कांग्रेस चल्दैन । त्यो कम्युनिस्ट पार्टीमा लागू होला,’ उनले भने, ‘कांग्रेसमा त्यसरी चल्दैन । कांग्रेसमा नमिलेका कुराहरूलाई मिलाउने हो । जहाँ समस्या छ त्यसलाई समाधानमा ल्याउने हो ।’

अनुशासनको डण्डा चलाएर सबैलाई ठेगान लगाउँछु भन्दै गयो भने भोलि आफू नै असफल हुने अवस्था आउने नेता घिमिरेले गगन थापालाई चेतावनी दिएका छन् ।

गगन थापाले क्रियाशील सदस्यता अध्यावधिमा असहयोग गरेको भन्दै ५० जना वडा सभापतिहरूलाई कारबाही गरेर पद खोसेको बताएका छन् । गगन थापाले अनुशासनको नाममा आफ्नो विरोधीहरूलाई धमाधम कारबाही गरिरहेका छन् ।

अनुशासनको कारबाहीले पार्टी एकतामा गम्भीर समस्या पर्ने नेता घिमिरेले बताएका छन् । ‘मेलमिलापको कुरा चलिरहेको थियो । नेताहरूको बीचमा मेलमिलापको वातावरण सिर्जना भयो भन्ने कुरा हुँदाहुँदै १४औँ महाधिवेशनबाट आएका १९ जनालाई केन्द्रीय समितिमा ल्याइयो,’ घिमिरेले भने, ‘एकातिर सम्वादको वातावरण बनिरहेको छभन्ने सबैलाई ल्याउन तयार छु पनि भन्ने । अर्कोतर्फ छानिछानी पिक एण्ड चजु गर्ने अवस्था छ । यसले पार्टी एकतालाई बल पुर्‍याउँदैन ।’

Published : Monday, 2026 May 25, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया