बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ ।

महासंघका एकतिहाई साधारणसभा सदस्यहरूले विधान अन्तर्गत रहेर विधिवत रुपमा कार्यसमिति समक्ष अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

केन्द्रीय कार्यसमितिले जेष्ठ १० गते आह्वान गरेको विशेष साधारणसभाको अध्यक्षता कार्यसमितिका निर्वाचित उपाध्यक्ष माधवप्रसाद प्रधानले गरेका छन् ।

बिशेष साधारणसभामा विश्व बुद्धिचाल महासंघ (फिडे) तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)लाई पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थियो ।

बिशेष साधारणसभामा विश्व बुद्धिचाल महासंघ (फिडे) पर्यवेक्षकका रूपमा भारतका दिलजित खन्नाले उपस्थिति जनाएका छन् । उनले नेपाल चेसको पछिल्लो क्रियाशीलता प्रशंसनीय रहेको धारणा ब्यक्त गर्दै नेपाल चेस र नेपाली खेलाडीको खेल बिकासमा निरन्तर सहयोग रहने जानकारी गराए ।

विशेष सभाको प्रमुख अतिथि बागमती प्रदेश सभाका पूर्वमन्त्री, सभाषद् एवं बुद्धिचाल महासंघका पूर्वअध्यक्ष एकालाल श्रेष्ठले नेपाल बुद्धिचाल महासंघको गतिविधिलाई मध्य नजर गर्दै प्रदेश सरकारको तर्फबाट नियमित रुपमा बजेटको व्यवस्था गरिरहेको जानकारी गराएका छन् ।

उनले नेपालको समग्र खेलकुदलाई विवाद रहित बनाउन जरुरी रहेको धारणा राख्दै बुद्धिचाल खेलकर्मीहरू निकै सानो परिधिभित्र भएका कारण असमझदारीबीच नियम संगत ढंगबाट समाधान खोज्न सकिने बताए ।

अध्यक्ष र महासचिवविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव उपर छलफलका लागि विधान अनुसार आवश्यक ५१ प्रतिशत साधारणसभा सदस्यको उपस्थिति रहन सकेन ।

राखेपद्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ को (घ) मा व्यवस्था भए बमोजिम एक दिनको फरकमा दोस्रो पटक कूल प्रतिनिधिको ३३ प्रतिशत उपस्थितिलाई गणपूरक संख्या मानिने प्रावधान अनुरुप ११ गते सोमबार बिहान ०९ः०० बजेका लागि पुनः विशेष साधारणसभाको आह्वान गरिएको छ ।

नेपाल सरकार खेलकुद विकास ऐन २०७७ बमोजिम गठित नेपाल बुद्धिचाल महासंघको विधान २०४८, राष्ट्रिय खेलकुद परिषदबाट मिति २०८१/०५/११ मा स्वीकृत आठौं संशोधन २०८० अनुसार सोमबार प्रस्तावको पक्षको कथन, विपक्षको प्रतिवाद कथन सुनेर आवश्यक निर्णय लिइनेछ ।

Published : Sunday, 2026 May 24, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया