देउवा पक्षीय नेताहरूको भेला, जेठ १५ भित्र कांग्रेसको समस्या समाधान नभए महासमिति बैठक बोलाउने
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसको विवाद जेठ १५ गतेभित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ ।
शनिाबर पोखरामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ बिषयक बिचार गोष्ठी एवम् गण्डकी प्रदेशस्तरीय भेलाले जेठ १५ भित्र पनि पार्टीभित्रका समस्या समाधान नभए महासमिति बैठकको आह्वान गर्ने निर्णय गरेको छ । भेलाले ९ बुँदे निर्णय पनि गरेको छ ।
‘आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलुकका समस्या समाधान गर्दछ भन्ने धारणा बनेको छ,’ निर्णयमा भनिएको छ । नेताहरूबीच घनिभूत संवाद गरी एकता सन्देश दिन विलम्व नगर्न गगन थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई आग्रह गर्ने निर्णयमा उल्लेख छ ।
‘२०८३ साल जेठ १५ गतेसम्म नेताहरूले निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरिन्छ,’ भेलाको निर्णयमा भनिएको छ ।
‘नेपाल सरकारले सुकुम्बासी वस्तीहरूमा अल्प सूचनाको आधारमा डोजर आतंक मच्चाएको घटनाको घोर निन्दा र भर्त्सना गर्दै संविधान प्रदत्त आवास सम्बन्धी मौलिक अधिकारको कार्यान्वयन गरि सुकुम्बासीहरूलाई अविलम्व आवास उपलब्ध गराउन माग गर्दछ,’ निर्णयमा भनिएको छ ।
‘नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा.आरजु राणाको पूर्ण स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ ।
निर्णयमा भनिएको छ, ‘सरकारले विभिन्न क्षेत्रका उद्यमी व्यापारी, निर्माण व्यवसायी र राजनैतिककर्मीहरूप्रति कानून, विधि र प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण ढंगले गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता पूर्वाग्रहपूर्ण कार्य नदो¥याउन र कानूनी प्रक्रियालाई आत्मसाथ गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ ।’
‘वी.पी.कोइरालाबाट प्रतिपादित सिद्धान्त र आदर्शप्रति पार्टीको क्रियाकलाप विमुख हुँदै गएको अनुभूति भएको छ,’ निर्णयमा भनिएको छ, ‘तसर्थ वी.पी.को विचारको सन्दर्भमा राष्ट्रव्यापी रुपमा वहस सञ्चालन गरि समानुकूल परिमार्जित र परिष्कृत सैद्धान्तिक दृष्टीकोण तय गर्नुपर्ने निर्णय गर्दछ ।’
‘देवघाटधाम, मुक्तिनाथ, शालीग्राम क्षेत्र र सुन्दरताले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि सरकारसँग विशेष पहल गर्न माग गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ ।
‘सभापति गगन थापाले आफूसँग प्रतिशोधपूर्ण ढंगले राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौला र भ्रातृसंस्था केन्द्रीय समिति विघटन कार्यको विरोध गर्दछौं,’ निर्णयमा भनिएको छ, ‘पार्टीभित्र अन्यापूर्ण गतिविधि सञ्चालन नगर्न र भ्रातृ संस्थालाई तदर्थवादका रुपमा मात्र सञ्चालन गर्ने परिपार्टीको अन्त्य गर्न आग्रह गर्ने निर्णय गरियो ।’
‘२०८२ साल फागुन २१ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित उम्मेदवारी चयन हुनु प्रमुख कारण हो भन्ने निष्कर्ष निकालेको छ,’ निर्णयमा भनिएको छ, ‘मुलुकको यस विषम परिस्थितिमा नेपाली कांग्रेसभित्र निरन्तर द्वन्द्व हुनुले कांग्रेसमा पाका र युवा नेताहरूको नेतृत्व क्षमतामा प्रश्न उठेको छ । आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलकुको समस्यासमाधान गर्दछ भन्ने धारणा बनेको छ । तसर्थ नेताहरूवीच घनिभूत संवाद गरि एकता सन्देश दिन विलम्ब नगर्न गगन थापा, पूर्णबहादुर खड्का र डा.शेखर कोइराला लगायतका अन्य नेताहरू समेतलाई आग्रह गर्ने निर्णय गरिन्छ ।’
‘२०८३ साल जेठ १५ गतेसम्म नेताहरूले निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरिन्छ,’ निर्णयमा भनिएको छ ।
नेता डाशशांक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा मोहनबहादुर बस्नेतसहितका नेता र जिल्ला सभापतिसहितका नेताहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया