वडा र जिल्ला सभापतिलाई कारबाही गरे गगनजी सबै मान्छे सानेपा आएर पार्टी कार्यालयबाट निकाल्नेछन् : मोहन बस्नेत

पोखरा । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले कीर्ते विशेष महाधिवेशनबाट आएकाहरूले वडा सभापति र जिल्ला सभापतिहरूलाई कारबाही नगर्न चेतावनी दिएका छन् ।

शनिाबर पोखरामा शेरबहादुर देउवा पक्षीय नेताहरूले आयोजना गरेको ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ बिषयक बिचार गोष्ठी एवं गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले क्रियाशील सदस्यता अध्यावधि नगरेकै कारण वडा सभापति र जिल्ला सभापतिहरूलाई कारबाही नगर्न गगन थापालाई चेतावनी दिएका हुन् । उनले भने, ‘यस्तै अवस्था रहने हो भने कांग्रेस एकादेशमा थियो भन्ने अवस्था नआओस् भन्नका लागि भेला गरिएको छ ।’

‘हावादारी फन्टुस गफ गरेर हुँदैन । एजेन्डा अनुसार आउनु पर्‍यो । एजेन्डा राखिसकेको छ । त्यो एजेन्डा भनेको के हो भने । क्रियाशील सदस्यता नवीकरण गर्ने कुरा अर्थात् अध्यावधि गर्ने कुरा अनावश्यक छ,’ पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले भने ।

‘अध्यावधि भएन भने उहाँहरूको क्रियाशील सदस्यता हट्ने ? पार्टी वडाले थेगेको छ । जिल्लाले थेगेको छ । त्यसलाई कारबाही गर्ने ? उहाँ (गगन थापा)ले जे पायो त्यही गर्नुभएको छ,’ उनले भने ।

‘बिगतमा तपाई (गगन थापा) शेरबहादुर देउवा, सुशील कोइरालाको विरुद्ध पनि बोल्न पाउनु भएको थियो । अहिले उहाँले भनेको नमान्ने भनेर निष्काशन गरेको छ,’ बस्नेतले भने ।

नेता बस्नेतले कांग्रेस मर्दहरूको पार्टी रहेको र आफू पनि मर्दको भएको बताए । उनले भने, ‘कांग्रेस भनेको मर्दहरूको पार्टी हो । मर्दहरूमा म पनि एकजना मर्द हुँ । म सधैँभरि लड्दै आएको मर्द हुँ ।’

‘यदि तपाईले क्रियाशील सदस्यता अध्यावधि नगरेवापत, यो नाटक नगरेवापत, त्यो पनि केका लागि ? कांग्रेसका लागि होइन,’ बस्नेतले भने, ‘आफैलाई सभापति बनाउनको लागि होला । तपाईले वडा सभापतिमाथि मात्रै होइन जिल्ला सभापतिहरूलाई पनि कारबाही गर्नुभएको छ, यदि तपाईले भनेको नमानेवापत उहाँलाई जिस्काउनुभयो भने कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईलाई पार्टी कार्यालयबाट निकाल्नेछन् । त्यो कुरालाई याद गर्नुपर्छ ।’

नेता बस्नेतले भने, ‘तपाईलाई अर्को कुरा पनि याद होला । कीर्ते विशेष महाधिवेशन गरेर तपाई पार्टी कार्यालयमा आउन खोज्दा पनि हामी पार्टी कार्यालयभित्र बसेका थियौं । तपाई निर्वाचन आयोगको नजिकैको होटलमा बसीरहनु भएको थियो ।’

कार्यक्रममा नेताहरू डा.शशांक कोइरालासहितका नेताहरूको उपस्थिति रहेको थियो । नेताहरूले कारबाहीको बहानामा आफ्ना विरोधीलाई ठेगान लगाउने र अध्यावधिका नाममा कांग्रेस पार्टीलाई कमजोर बनाउने गतिविधि भइरहेको भन्दै चिन्ता जनाएका छन् ।

Published : Saturday, 2026 May 23, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया