पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ ।

शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल क्लव काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको आठौँ मिनेटमा सम्झना लावतीले गरेको गोल नै पुलिसको जीतका लागि निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल तनावपूर्ण बनेको थियो । मुख्य रेफ्री किर्ति सेन ठकुरीले खेल अवधिभर पाँच वटा पहेँलो कार्ड देखाएकी थिइन् । थप गरिएको सात मिनेटको समय सकिएपछि अन्तिम सिठ्ठी बज्नासाथ दुवै टोलीका खेलाडीबीच विवाद हुँदा केहीबेर मैदान तनावग्रस्त बनेको थियो ।

पुलिसका खेलाडीले संकटाका विदेशी खेलाडीलाई जिस्काएको विषयलाई लिएर विवाद भएको बताइएको छ । दुवै टोलीका प्रशिक्षकको समन्वयमा स्थिति तत्काल नियन्त्रणमा आएको थियो ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ पुलिसकी सम्झना लावती घोषित भइन् । उनले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरिन् ।

उपाधिसँगै पुलिसले शिल्ड, प्रमाणपत्रसहित दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता संकटाले एक लाख २५ हजार रुपियाँसहित कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाकी लुसिया जेन्सले जितिन् । उनले २५ हजार रुपियाँ प्राप्त गरिन् ।

उत्कृष्ट गोलकिपर पुलिसकी सपना राई, उत्कृष्ट डिफेन्डर मोनिका रजाली मगर, राइजिङ प्लेयर सहारा लिम्बु, उत्कृष्ट फरवार्ड निर्मला विके, उत्कृष्ट प्रशिक्षक भोला सिलवाल तथा उत्कृष्ट मिडफिल्डर संकटाकी सिमरन राई घोषित भए । उनीहरूले जनही १० हजार रुपियाँ प्राप्त गरे ।

प्रतियोगितामा ट्रिनिटी युवा क्लव वालिङ, राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौँ, संकटा क्लव काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौँडा र आयोजक बीस पचहत्तर युवा क्लबको सहभागिता रहेको थियो ।

Published : Saturday, 2026 May 16, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया