दोलखा चेसमा रसिया पहिलो, पुछारमा नेपाल

चरीकोट । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरीयता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन् ।

रसिया, भारत र नेपालका तीन जना खेलाडीहरुले समान ७.५ अंक जोडे पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रथम, द्वितीय तथा तृतीयस्थान प्राप्त गरेका छन् ।

रसियन २४७३ रेटेड जिएम किरियाकोभले नौ चरणको क्लासिकल खेलमा ६ जीत ३ बराबरीको खेल प्रदर्शन गर्दै ७.५ अंकका साथ उपाधि जितेका छन् ।

रसियन ग्रायण्ड मास्टरले ६ दिनको नेपाल बसाइँ सुखद् बनाउँदै प्रोग्रेसिभ ५४.५ प्वाइन्ट जोडेर नगद रु. १ लाख पुरस्कार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

चरीकोटको सीम्पानी सभाहलमा सम्पन्न चेस खेलमा दोस्रो वरीयताका २३२४ रेटेड भारतीय खेलाडी अर्पण दासले प्रोग्रेसिभ ५३.५ प्वाइन्ट जोडेर द्वितीयस्थान प्राप्त गरेका छन् । अर्पणले नगद रु. ६० हजार प्राप्त गरे ।

प्रतिस्पर्धामा नेपाली २०४० रेटेड खेलाडी रिसोन थापाले प्रोग्रेसिभ ५१.५ प्वाइन्ट जोडेर तृतीयस्थान सुरक्षित गरेका छन् । रिसोनले नगद रु. ४० हजार जिते ।

तीन जना खेलाडीले समान ७ अंक जोडेर प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथोदेखि छैठौंस्थान प्राप्त गरेका छन् । जसमा नेपाली युवा सिएम पुरुषोत्तम सिलवालले ५१ प्रोग्रेसिभ प्वाइन्ट बनाउँदै चौथो स्थानको नगद रु. २५ हजार पुरस्कार जितेका छन् ।

भारतका अंकित दासले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर पाँचौँस्थानको नगद रु. १५ हजार , नेपालका धिरेन राई छैठौं हुँदै रु. १० हजार पुरस्कार जितेका छन् ।

प्रतिस्पर्धामा भारतका राहुल गुरुङ सातौं, थेन्दुप तामाङ आठौं, विनायकसिंह यादव तथा नेपालका प्रसान्त गुरुङ दशौंस्थान प्राप्त गरेका छन् ।

दोलखा चेस होम्सको आयोजनामा सञ्चालन भएको चेस प्रतिस्पर्धामा सात राष्ट्रका १४० जना अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी जनाएका थिए । आयोजकले विजयी खेलाडीहरुलाई कूल नगद पुरस्कार रु. ५ लाख २ हजार वितरण गरिएको छ ।

दोलखा चेस होमका अध्यक्ष एवं कार्यक्रमका संयोजक गोविन्दमान श्रेष्ठको सभापतित्वमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आशिष घिसिङ, विशेष अतिथि नेपाल बुद्धिचाल महासंघका, अतिथि महासंघका प्रवक्ता राजु ताम्राकार लगायतले पुरस्कार प्रदान गरेका छन् ।

Published : Saturday, 2026 May 16, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया