भारतका राहुल अन्तर्राष्ट्रिय रापिड चेसको च्याम्पियन

चरीकोट । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल गुरुङले जितेका छन् ।

चरिकोटस्थित सिम्पानी सभाहलमा शुक्रबार १९८१ रेटेड राहुलले नेपालका २१५५ रेटेड एफएम रुपेश जैसवाल विरुद्ध पाउण्ड रुक इन गेममा दबाब श्रृजना गर्दै जीत हासिल गर्न सफल भएका छन् ।

महत्वपूर्ण अन्तिम नवौं चरण सुखद् बनाउँदै भारतका राहुलले एकल ७.५ अंक जोडेर नगद पुरस्कार रु. २५ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

रसियन जिएम २४४१ रेटेड खेलाडी किरियाकोभ पिटले नेपाली २११० रेटेड आशिष फुँयालसँग छरितो बराबरी खेल्दै ७ अंक प्रोग्रेसिभ ५०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिताका शीर्ष खेलाडी ग्राण्ड मास्टरले १५ हजार नगद पुरस्कार ग्रहन गरेका छन् । प्रोग्रेसिभ ४८.५ प्वाइन्ट समान ७ अंक जोडेर भारतका १६०६ रेटेड रनित मैती तृतीय स्थानमा रापिड खेल टुङ्ग्याएर नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

अन्तिम चरणको प्रतिस्पर्धामा चुकेका नेपाली एफएम रुपेश जैसवालले ६.५ अंकमा सिमित रहँदै राम्रो ४९ प्रोग्रेसिभ प्वाइन्ट जोडेर चौथो स्थानको नगद रु. ७ हजार ५ सय पुरस्कार जितेका छन् ।

एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड चेसमा ८ राष्ट्रका खेलाडी सहभागी जनाएका मध्ये ६.५ अंक जोडेर भारतका १९१३ रेटेट थेन्दुप तामाङ पाँचौ, बंगलादेशका २२०१ रेटेड एफएम नयम हक छैटौं भएका छन् ।

स्पर्धामा समान ६.५ अंक जोडेर नेपालका युवा २१७८ रेटेड सिएम पुरुषोत्तम सिलवाल सातौं, २०१६ रेटेड धिरेन राई आठौं, ६ अंकका साथ २११० रेटेड आशिष् नवौं तथा २०६२ रेटेड रिसोन थापा दशौं बन्न सफल भएका छन् ।

प्रतियोगिताको रापिड विधा तर्फ शीर्ष १५ जना सहित उत्कृष्ट महिला, सिनियर, लोकल, युवा १२,१४,१६ वर्ष, नयाँ खेलाडी, रेटिङ १६ र १८ सय मुनिका विजेताले १ लाख ७१ हजार ५ सय पुरस्कार प्रदान गरेका छन् ।

संयोजक गोविन्दमान श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका ईश्वरनारायण मानन्धर, विशेष अतिथि मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार थोकर, बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार लगायतले पुरस्कार वितरण गरेका छन् ।
नगद रु. ५ लाख २ हजार ५ सय पुरस्कार रहेको छैटौं दोलखा खुल्ला बुद्धिचाल मुख्य प्रतिस्पर्धा शनिबार बिहान अन्तिम चरणको खेल पश्चात् समापन समारोह कार्यक्रम हुनेछ ।

Published : Friday, 2026 May 15, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया