दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

चरिकोट । दोलखा चेस होम, नेपालले छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार चरिकोटमा पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष एवं प्रतियोगिताका संयोजक गोविन्दमान श्रेष्ठले अन्तर्राष्ट्रिय चेस स्पर्धाको छैटौं संस्करणमा क्लासिकल तथा रापिड दुई विधाको खेल सञ्चालन गर्ने बताएका छन् । बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म प्रतियोगिता हुनेछ ।

दोलखा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष उद्धव पोखरलले दुबै चेस विधाको च्याम्पियन ट्रफी तथा मेडल सार्वजनिक गरेका छन् ।

चरिकोटस्थित सिम्पानी सभाहलमा सञ्चालन हुने चेस प्रतियोगितामा नेपाल सहित अमेरिका, रसिय, चाइना, मंगोलिया, फिलिपिन्स, भारत, बंगलादेश, श्रीलंका लगायतका १० राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ ।

रसियाका २४८६ रेटेड ग्रायण्ड मास्टर किरियाकोभ पिटले उच्च वरियता प्राप्त गरेका छन् । भारतका २३३१ रेटेट अर्पण दास दोस्रो वरीयता र बंगलादेशका २१५६ रेटेड एफएम नयम हक तेस्रो वरीयता लिएर प्रतिस्पर्धामा होमिने भएका छन् ।

नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल २१०३ रेटिङसहित चौथो वरियतामा हुनेछन् । अन्य खेलाडीको हकमा जुनियर १० वर्षदेखि सिनियर ८५ वर्षका खेलाडी गरि ३५० जनाले प्रतिस्पर्धा गर्नेछन् ।

विश्व बुद्धिचाल महासंघ (फिडे), एशियन चेस फेडेरेशन (एआईसिएफ), नेपाल बुद्धिचाल महासंघ(एनसिएफ)को तत्वावधानमा सञ्चालन हुने अन्तर्राष्ट्रिय चेसका लागि कूल २५ लाख ५२ हजार खर्च हुने अनुमानित बजेटमा विजयी खेलाडीहरूले नगद ६ लाख ६७ हजार ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

जस अन्तर्गत ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको क्लासिकल विधामा ५ लाख २ हजार नगद पुरस्कार रहनेछ । महासंघका पूर्व उपाध्यक्ष एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति रापिड विधातर्फ १लाख ७१ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको दुवै विधातर्फ शीर्ष १५ जनासहित उत्कृष्ट महिला, सिनियर, लोकल, युवा १२, १४, १६ वर्ष, नयाँ खेलाडी, रेटिङ १६ र १८ सयमुनि गरि जम्मा १०८ जनाले पुरस्कार रकम बाँड्ने छन् ।

फिडे इभेण्ट कोड ४७१७९१ मान्यता प्राप्त अन्तर्राष्ट्रिय खेलको प्रमुख निर्णायक नेपाली अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिको रेखदेखमा प्रतियोगिता सञ्चालन हुनेछ ।

मोफसलमा खेल आयोजना गरि खेल विकास तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आयोजना हुने स्पर्धामा स्थानीय तहका जनप्रतिनिधि सहित राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले कार्यक्रम समारोहमा सहभागी जनाउने छन् ।

Published : Saturday, 2026 May 9, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया