कांग्रेसद्वारा रवि लामिछानेसँग पराजित मीनालाई महिला संघको अध्यक्षमा नियुक्त, जिल्ला समितिहरू विघठन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेललाई नियुक्त गरेको छ ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संघको अध्यक्षमा खरेललाई नियुक्त गरिएको उल्लेख छ । खरेल चितवन जिल्ला निवासी हुन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा खरेल चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेर पराजित भएकी थिइन् । खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अत्याधिक मतले पराजित गरेका थिए ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा मीनाकुमारी खरेल (चितवन) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न देहाय बमोजिमको १७ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान भएको छ ।’
अध्यक्षमा नियुक्त खरेलले २०८३ जेष्ठ १५ गतेभित्र सबै क्षेत्र, वर्ग, उमेर समूह, समुदाय र भूगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्नुपर्नेछ ।
रिक्त रहेका वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका सबै समितिहरूको २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति बनाउने अधिकार खरेलले पाएकी छिन् ।
२०८३ फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग समेत समन्वय गरी २०८३ साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्ने जिम्मेवारी अध्यक्ष खरेललाई दिइएको छ ।
सदस्यता वितरण लगायतको सांगठनिक कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिमार्फत तोकिएको समयमा पार्टीबाट स्वीकृत विधान बमोजिम संघको निर्वाचन प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ । निर्वाचनसंग सम्बन्धित सम्पूर्ण काम पार्टी केन्द्रीय निर्वाचन समितिले गर्नेछ ।
विगतदेखि विभिन्न समयमा नेपाल महिला संघमा आवद्ध भएका व्यक्ति र सदस्यको डिजिटल अभिलेख बनाउने विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया