कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ, कुनै समस्या छभने बसेर सम्वाद गर्न सक्छौँ : भारत

काठमाडौं । कैलाश मानसरोवर यात्राको विषयमा भारतको विदेश मन्त्रालयले आफ्नो अडान कायम रहेको जनाउँदै कुनै समस्या भए वार्ता गर्न तयार रहेको उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको बताएका छन् । मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफ्रिङमा जैसवालले भारतले यो विषयमा प्रेस नोट जारी गरिसकेको बताए । उनले मानसरोवर यात्रा १९५४ देखि नै हुँदै आएको भन्दै यो नौलो विषय नरहेको बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने, ‘नेपालले जो लिपुलेक र लिम्पियाधुरालाई उल्लेख गरेको छ । खास गरी लिपुलेकको विषयमा, कैलाश मानसरोवर यात्रा यो बाटोबाट १९५४ देखि चलिरहेको छ । र, यो कुनै नयाँ चिज होइन । हामीले यो कुरा स्पष्ट स्टेटमेन्टमा भनेका छौँ, यस प्रकारका युनिल्याटर र आर्टिफिसियल कुरा गरिएको छ यो दाबी ठीक होइन । बाँकी जति पनि मुद्दा हामी (भारत) र नेपालका बीचमा छन्, त्यसका लागि हामी बसेर चर्चा गर्न तयार छौँ । त्यसमा बाउण्डरीको कुनै समस्या छभने त्यसमा पनि बसेर चर्चा गर्नका लागि तयार छौँ । तर, एकतर्फी दाबी गर्ने, फलाना चिज हाम्रो हो, हाम्रो पोजिशन सहि हो, मेरो विचारमा तरिका ठीक होइन । कुनै समस्या छभने बसेर सम्वाद गर्न सक्छौँ ।’

प्रवक्ता जैसवालले भने, ‘नेपाल र भारतबीचमा बहुआयाम सम्बन्ध छ । आदान प्रदान दुबै देशबीच चलिरहेको छ । केही दिन अगाडि कुरा आएको थियो, तेलको, तेलमा पनि हामी दुबै देशबीच जो सम्झौता छ त्यसअनुसार उर्जा दिइरहेका छौँ । फटिलाइजर पनि हामी दुबै देशबीच घनिष्ट सम्बन्ध छ । यो सम्बन्धलाई हामी अझै मजबुत बनाउन चाहन्छौँ । नेपाललाई फटिलाइजर पूर्ति गर्ने हो त्यो पनि दिन्छौँ ।’

केही दिनअघि भारत र चीनले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लाएको विरोधमा नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले यो विषय नयाँ नभएको प्रतिक्रिया दिएको थियो । नेपालसँग संवादका लागि भने तयार रहेको प्रेस नोटमा उल्लेख थियो ।

सन् २०१५ मा भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक, तीर्थालु आउजाउ गर्ने सहमति गरेका थिए । त्यतिबेला नेपालले पठाएको कूटनीतिक नोटको भने दुवै देशले औपचारिक जवाफ दिएका थिएनन् । यसपटक पनि चीनले नेपालको यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सन् १८१६ मा नेपाल र ब्रिटिस भारतबीच भएको सुगौली सन्धिमा काली (महाकाली) पूर्वका भू–भाग नेपालको हुने उल्लेख छ । जसअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली सीमा नदी हो ।

लिपुलेकलाई नेपालले आफ्नो दाबी गर्दै आएको छ । भारतले पनि लिपुलेक आफ्नो रहेको दाबी गरिरहेको छ । लिपुलेकका विषयमा नेपाल र भारतबीच आ–आफ्नो दाबी रहेका बेला भारतले लिपुलेक लगायत सीमा विवादका विषयमा कुटनीतिक सम्वाद गर्न सकिने जनाएको छ ।

Published : Thursday, 2026 May 7, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया