ईन्टरपोलद्वारा पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा.आरजु राणाविरुद्ध ईन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरिदिएको छ ।

देउवा र डा.राणाबिरुद्ध सम्बद्ध कसूर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै ईन्टरपोलले गम्भीर प्रश्न उठाएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्साल निकट उच्च स्रोतले रेड नोटिस जारी गर्न पठाइएको पत्र नोटिस जारी नभई फिर्ता आएको जनाएको छ ।

राजनीतिक प्रतिशोध राखेर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गर्नुका साथै रेड नोटिसका लागि ईन्टरपोललाई पत्र पठाइएको आरोप नेपाली कांग्रेसका नेताहरूले लगाउँदै आएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरिए पनि ईन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री देउवा र पूर्वमन्त्री डा.राणालाई भदौ २४ को जेनजी आन्दोलनका क्रममा हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । घाइते देउवा र राणाले उपचारका लागि विदेशमा छन् । उनीहरूले सिंगापुर र हङकङमा उपचार गराउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री देउवा र डा.राणा फागुन २१ गतेको निर्वाचनभन्दा करीव १ महिना अगाडि नै उपचारका लागि विदेश प्रस्थान गरेका छन् ।

ईन्टरपोलले देउवा दम्पतीबिरुद्धको सम्बन्धित कसूर कुन हो ? कुन–कुन कसूरमा अनुसन्धान भइरहेको छ ? अनुसन्धान कुन अवस्थामा पुगेको छभन्ने विषय उठाएको छ ।

Published : Wednesday, 2026 May 6, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया