डोजर आतंक भइरहेका बेला ऐलानी जग्गामा वालेनका प्रिय मन्त्रीको घर, खोलाको मापदण्ड मिचेर संरचना निर्माण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले भूमिहीन र सुकुम्बासीको बस्तीमा डोजर लगाएर भत्काइरहेका बेला त्यही सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले नै ऐलानी जग्गामा नक्साबिनै साढे एक तलाको घर बनाएको खुलेको छ ।
मन्त्री पौडेलको पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटनमा सेतो रंगको साढे एक तले घर रहेको छ । मन्त्री पौडेलको घरको लालपुर्जा र नक्सापास दुबै छैन ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग निकट रहेका मन्त्री पौडेलको घरका विषयमा विभिन्न प्रश्नहरू आउँदा समेत कुनै प्रतिक्रिया दिएका छैनन् । पत्नीसहित पोखरा जाँदा शाह मन्त्री पौडेलको रेष्टुरेन्टमा जाने गरेका थिए ।
मन्त्री पौडेलले विजयपुर खोलाको किनारमा पोखराको विजयपुर खोलासँगै तारे भिरमाथि मझेरी मञ्जिल नामक रेस्टुरेन्ट चलाएका छन् । उनले रेस्टुरेन्ट अस्थायी संरचनामा बनाएका छन् । यो जग्गा मन्त्री पौडेलको पुर्ख्यौली हो । जग्गा पुर्ख्यौली भए पनि मन्त्री पौडेलले बनाएको अस्थायी संरचनाहरू खोलाको मापदण्ड भित्रै पर्छ । पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले पोखरा महानगरपालिकाले तोकेको मापदण्ड अनुसार विजयपुर खोलाको ३० मिटर बाहिर मात्र संरचना बनाउन पाइने बताएका छन् । वडाध्यक्ष कार्कीले खोलाको सीमाभित्र स्थायी र अस्थायी संरचनाहरू रहेको र मन्त्री पौडेलले निर्माण गरेको संरचना मापदण्डभित्रै पर्छ या बाहिर त्यसबारे एकिन गर्न प्राविधिक जाँच गर्नुपर्ने बताए ।
मन्त्री पौडेलसँग ऐलानी जग्गामा साढे १ तलाको घर र विजयपुर खोलाको मापदण्ड मिचेर संरचना बनाएको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कार्कीले मन्त्री पौडेलको घर र जग्गाका विषयमा पत्रकारहरूले आएर सोध्ने गरेको बताए । उकेरा डटकमसँगको अन्तर्वार्तामा वडाध्यक्ष कार्कीले भने, ‘खडकराज पौडेल (गनेस) जहाँसम्म उहाँको घर पनि आएको भनेर आइरहेको छ । धेरै मिडिया आउनुभयो सोध्नुभयो ।’
‘उहाँले आफूले किनेर बसेको, किनेको जग्गामा उहाँले घर बनाउनुभएको भन्ने मैले पनि बुझेको, उहाँको श्रीमतीको नाममा छ । यद्यपि, पुर्जा छैन भन्ने मलाई पनि त्यहाँ रेकर्डमा भएको छ । नभएरै होला । मझेरी मञ्जिलमा उहाँहरूको पैत्रिक सम्पत्ति नै हो,’ वडाध्यक्ष कार्कीले भने ।
‘उहाँहरूको पुर्ख्यौली हो । पञ्चायतकालदेखि बस्दै आउनुभएको छ । लगभग ३०÷३५ रोपनी जग्गा थियो,’ वडाध्यक्ष कार्कीले भने, ‘त्यो जग्गामा उहाँहरूले आफ्ना दाजुभाईहरूले बाँडेर अंशबण्डाबाट लिएको जग्गा हो ।’
‘मझेरी मञ्जिलको खोलाको तिरकै आडमा छ । विजयपुरको नदी त्यहीँबाट बगेको हुनाले त्यो मापदण्ड कति पुगेन ? कति पुग्यो ? थाइ हो ? अस्थायी हो ? भन्ने कुरा अलिकति प्रक्रियागत किसिमबाट, कानूनी रुपबाट यो प्राविधिक हिसाबबाट हेर्नुपर्ने हुन्छ,’ उनले भने ।
‘अब हामीले खोलाको मापदण्डबाट लगभग ३० मिटर बनाउन पाउने भन्नेछ । थाइ संरचनाहरू । अस्थायी संरचनाहरू त नेपाल राज्यबाट अस्थायी संरचनाहरू जहाँ पनि बनिरहेका छन् । मन्त्रीज्यूकै घर भएको एरिया छ । त्यहाँ लगभग ८० देखि १०० घरहरू पुर्जा नभएकै छन्,’ वडाध्यक्ष कार्कीले भने ।
‘ऐलानी जग्गाहरू छ । दुई तला, तीन तला, एक तलाका घरहरू ढलानयुक्त बनेका छन् । हामीसँग पुर्जा नभएको हिसाबले ट्याक्स पनि लिन नपाइने । कानूनी रुपमा नक्सा पनि दिन हामी स्थानीय सरकारले नमिल्ने । वडाको भन्दा पनि बाहिर छुट्टै किसिमबाट निर्माण भएका घरहरू हुन्,’ उनले भने ।
‘हामीले ट्याक्सको दायरमा ल्याउन पनि सकेका छैनौँ । राज्यले लालपुर्जा पनि दिन सकेको छैन । निर्वाह गरेर बसेको अवस्था छ,’ वडाध्यक्ष कार्कीले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया