सुशीलाका पालामा निगम चलाउन नसक्ने भन्दै बाहाना बनाउने कालाखेतीलाई निमित्त महाप्रबन्धक जसरी पनि चाहियो
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक बन्नका लागि जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चक्कर लगाइरहेका छन् ।
तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल सिन्हाले कालाखेतीलाई निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी दिन खोज्दा निगमलाई चलाउन नसक्ने भन्दै पन्छिएका थिए । त्यस बेला कालाखेतीले विभिन्न कानूनी अड्चन र बाधाहरू देखाएर पन्छिएका थिए ।
तत्कालीन समयमा विभिन्न बहाना बनाएर पन्छिएका कालाखेतीलाई अहिले आएर केही हप्ताका लागि निमित्त महाप्रबन्धक चाहिएको छ । त्यस बेला प्रधानमन्त्री कार्की र पर्यटन मन्त्री सिन्हा, पर्यटन सचिव लगायतले कालाखेतीलाई ‘तपाईलाई के के अधिकार चाहिन्छ दिन्छौँ’ भन्दा पनि विभिन्न कानूनी बहाना बनाएर कालाखेती टापकसेको निगमका कर्मचारीहरूले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अबको केही दिनमै महाप्रबन्धकसहितका रिक्त पदमा नियुक्तिहरू गर्न लागेको छ । यो बेला कालाखेतीलाई जसरी पनि निमित्त महाप्रबन्धक पद चाहिएको छ ।
तत्कालीन समयमा निमित्त महाप्रबन्धक रहेका बेला कालाखेतीले सञ्चालक समिति समक्ष लेखिपठाएको पत्रमा भनेका छन्– व्यवस्थापनबाट मिति २०८२ कात्तिक ३० मा प्राप्त प्रस्ताव उपर छलफल गरि नेपाल वायुसेवा निगम ऐन, २०१९,सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गतका नियमावली तथा विनियमावलीहरू बमोजिम कार्यकारी प्रमुखको हैसियतमा कार्य गर्न बाधा पुगेको व्यवहोरा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लेखी पठाउने ।’
कालाखेतीको प्रतिक्रिया लिन निगमको टेलिफोन नम्बरमा फोन गर्दा उठेन । निगमको आर्थ विभागमा लामो समयदेखि हालिमुहाली गर्दै आएका कालाखेतीका बारेमा कर्मचारीहरू आजित बनेका छन् । कर्मचारीहरूले कालाखेतीलाई टिकट बिक्री वितरणमा गोलमाल गरेर विगतमा आफू नजिकका व्यक्तिहरूलाई बिक्री गर्न दिएर कमिशन लिएको आरोप पनि लगाउने गरेका छन् । निगमको टिकट प्रकरणका बारेमा रिपब्लिका दैनिकले अर्को समाचारमा बिस्तृत विवरण सावर्जनिक गर्नेछ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया