भारतलाई उछिन्दै नेपालले उचाल्यो सातौं एसियन सभात च्याम्पियनसिपको उपाधि

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा वैशाख १६ देखि २० गतेसम्म भएको च्याम्पियनसिपमा नेपाल ३१ स्वर्ण, २० रजत तथा ३० काश्य सहित सर्वाधिक पदक जितेर टिम च्याम्पियन बनेको नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेतले जानकारी दिए ।

भारतले १८ स्वर्ण, २७ रजत र २२ काश्य सहित दोस्रो र इन्डोनेसिया तेस्रो भएको छ । च्याम्पियनसिपमा नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाइन् । उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिपतर्फ न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलु भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, फ्रान्सबाट आएका अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगूले प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।

प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३०० खेलाडी सहभागी थिए । अन्तिम समयमा विविध कारणले गर्दा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी आउन नसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम दिन आइतबार राति विजेता खेलाडीहरूलाई पूर्व राज्यमन्त्री विराज विष्ट, अन्तर्राष्ट्रिय सभात संघका उपाध्यक्ष जिल दुइगु, नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेत, नेपाल सभात संघका महासचिव सिद्दि व्यञ्जनकार लगायतले मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन समारोहमा अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष दुइगुले नेपालले सफल रुपमा प्रतियोगिता आयोजना गरेर आफू लगायत सम्पूर्ण सहभागि राष्ट्रको विश्वास जितेको र भविष्यमा विश्वस्तरका अन्य प्रतियोगिताहरु समेत आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश विश्वसामु दिएको बताए ।

नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेतले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूले उत्कृष्ट रुपमा आफ्नो खेल कौशल प्रस्तुत गरेको र प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

आठौं एसियन सभात च्याम्पियनसिप आयोजनाका लागि इन्डोनेसियाले प्रस्ताव गरेको पनि बस्नेतले जानकारी दिएका छन् ।

Published : Tuesday, 2026 May 5, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया