भौतिक रूपमै उपस्थित हुने थिएँ, अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण विभागले हेटौँडा र काठमाडौंमा रहेको आफ्नो घर तथा विगतमा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा समेत छापामारेरको कागजपत्र नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्री बानियाँले भने, ‘आज मिति २०८३ साल वैशाख २१ गतेका दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित मेरो घर एवं विगतमा म समेत संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले भने, ‘म बागमती प्रदेशको मुख्यमन्त्री भएपछि मेरो प्रमुख प्राथमिकता नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको निर्माण रहेको सबैलाई जानकारी नै छ । सोही अनुसार मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु ।’

‘आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ,’ मुख्यमन्त्री बानियाँले भने ।

‘तीन तहको सरकारमध्ये प्रदेश सरकारको सरकार प्रमुख मुख्यमन्त्री हो,’ उनले भने, ‘तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ ।’

‘संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ,’ बानियाँले भने, ‘राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्न चाहन्छु ।’

मुख्यमन्त्री बानियाँले भने, ‘राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर, विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु,’ उनले भने ।

‘अन्त्यमा, राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ,’ उनले भने ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेशबासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु । म यहाँहरूको सेवामा सधैँ तत्पर रहनेछु । जय नेपाल,’ मुख्यमन्त्री बानियाँले भने ।

‘आफ्नो जीवनको महत्वपूर्ण ऊर्जाशील समय युवादेखि विद्यार्थी अवस्था हुँदै चालीस वर्षभन्दा लामो राजनीतिक यात्राका कैयौँ आरोह अवरोह पश्चात् हाल म बागमती प्रदेश सरकारको सरकार प्रमुखको रूपमा जनताको सेवक भई मुख्यमन्त्रीको पदमा रहेको सम्पूर्ण नागरिकलाई सर्वविदितै छ,’ उनले भनेका छन् ।

सोमबार विभागको टोलीले मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस बामगती प्रदेश कार्यसमितिका सभापति बानियाँको काठमाडौं र हेटौँडा तथा विगतमा उनी संलग्न बानियाँ निर्माण सेवा कम्पनीको कार्यालयमा पनि छापारेको छ । बानियाँले विभागले अनुसन्धान वा छानविनका लागि बोलाएको भए सबै कागजपत्र र दस्तावेजहरू बोकेर आफै खुरुखुरु विभागमा जाने समेत उल्लेख गरेका छन् ।

Published : Monday, 2026 May 4, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया