कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी बनेका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको रापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाममा गरेका छन् । भण्डारीले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे ।

ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक जोडेर राष्ट्रिय विजेता बनेका छन् । शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन् ।

महिला राष्ट्रिय रापिडतर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन् । झापा जिल्लाका कृतिसराले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छिन् ।

चौथो वरियताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधातर्फ ६.५ अंक बनाउँदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छिन् । उनले ७ चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याइन् ।

यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गरेका छन् । महिला विजेता अधिकारीले नगद रु. १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

रापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष फुयाँलले एकल ८ अंक बनाउँदै द्वितीयस्थान हासिल गर्न सफल बनेका छन् । आशिषले नगद रु. २५ हजार पुरस्कार ग्रहण गरेका छन् ।

झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंक उत्कृष्ट ४९ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय स्थान ओगटेका छन् । राजनले नगद रु. १५ हजार प्राप्त गरे ।

राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७.५ अंक उत्कृष्ट ४७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीयस्थान ओगट्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटीले समान ७.५ अंक जोडेर तृतीय स्थानमा रहँदै नगद रु. ८ हजार हात पार्न सफल बनेका छन् ।

राष्ट्रिय चेस प्रतियोगितामा विभिन्न जिल्लावाट एकसय अस्सि जना खेलाडी सहभागी भएका मध्ये ५३ जनाले विभिन्न विधामा कूल नगद रु. ३ लाख पुरस्कार प्राप्त गरेका छन् । रापिड खेलमा रु. २ लतख तथा ब्लिट्जतर्फ नगद रु. १ लाख पुरस्कार प्रदान गरिएको थियो ।

शुक्रबार क्षेत्रपाटी क्लबले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यवाहक मेयर सुनिता डंगोलले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै बुद्धिचाल खेललाई माइन्ड गेम (बौद्धिक खेल)को संज्ञा दिनुका साथै काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धनमा टेवा पु¥याउने उदघोष गरेका छन् ।

क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ वडाध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

Published : Friday, 2026 May 1, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया