रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा सहभागी ११ जिल्लाका खेलाडीमध्ये ६ अंक जोडेर प्रथमस्थान हासिल गर्ने रौतहटका एफएम रुपेश जैसवालले नगद रु. २५,००० नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल च्याम्पियन रुपेश जैसवालले अन्तिम चरणमा सिएम पुरुषोत्तम सिलवालमाथि बराबर उन्मुख खेललाई आफ्नो अनुकूल कठिन जीतमा परिणत गरि उपाधि जितेका छन् ।

पाँचथरका रिसोन थापा ५.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय हुँदै नगद रु. १५,००० हात पारेका छन् । काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल तृतीय स्थान हासिल गरेर नगद रु. १०,००० प्राप्त गरेका छन् ।

काठमाडौंका केशव श्रेष्ठ, बद्रीलाल नेपाली, कास्कीका विनोद नाल्मी, खोटाङका धिरेन राई, ललितपुरका राजन पुरी, काठमाडौंका प्रवीर के.सी. र ललितपुरका सुरोज महर्जन चौथोदेखि दशौँस्थान कब्जा गरेका छन् ।

चौथोदेखि दशौंस्थानका खेलाडीहरूलाई क्रमशः नगद रु ८ हजार, ६ हजार, ३ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा विभिन्न विधागत पुरस्कार जित्नेमा सुदीन नेपाल, तारामान श्रेष्ठ, सियोन रिमाल, सविन खतिवडा, सङ्दिल श्रेष्ठ, मनसुन रिमाल, श्रेया रिमाल, सुभाना श्रेष्ठ, उत्सव बराल, सुरज लामा, गोविन्द बराल, मोहनसिं प्रधान, सौर्यप्रतापसिं कार्की, नवीन तण्डुकार, गणेशमान दुवाल, कोसिसमणि रिमाल, सात्विकमान तुलाधर, रिहान्सु पौडेल उत्कृष्ट बनेका छन् ।

गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, वडा नं. १ का वडाध्यक्ष यदुकुमार खतिवडा, बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार, शिक्षा अधिकृत धिरज बस्नेत लगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।

Published : Sunday, 2026 April 26, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया