नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

जावलाखेल । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरूबारे विभिन्न निर्णयहरू गरेको छ ।

महासंघले वैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप गर्ने निर्णय गरेको प्रवक्ता राजु ताम्राकारले बताए । प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौंस्थित क्षेत्रपाटी क्लवलाई प्रदान गरिएको छ ।

जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २६औं खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल ‘बी’ छनौट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय ‘बी’ छनौट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टास्थित नाइट चेस क्लबलाई प्रदान गरिएको छ । छनौट प्रतियोगिताबाट पुरुष तथा महिला दुबैतर्फ गरि ९÷९ जना खेलाडीहरू नेशनल ‘ए’ को लागि छनौट हुनेछन् ।

नेशनल ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ । राष्ट्रिय प्रतियोगिताबाट समान चार चार जना खेलाडीहरू उज्बेकिस्तानमा हुने ४७औँ चेस ओलम्पियाडका लागि छनौट गर्नेछन् ।

वार्षिक रुपमा नियमित आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगिताहरूमध्ये जेठ १० देखि १२ गतेसम्म ललितपुरमा जुनियर खेलाडी राष्ट्रिय चेस च्याम्पियनसिपको समेत आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल बुद्धिचाल महासंघले आफ्नो विधान अन्तर्गत नियमित साधारणसभा मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।

महासंघले सार्वजनिक सूचना सँगसँगै पत्राचारमार्फत निर्धारित समयसीमाभित्र जिल्ला अधिवेशन सम्पन्न गरेका २० जिल्लाहरूलाई अनुमोदन गरेका छन् ।

जम्मा ५५ जिल्ला संघहरूमध्ये अधिवेशन हुन नसकेका जिल्लाहरूको हकमा चेस खेलको गतिविधि भए, नभएको सकृयता अनुगमन गरि मूल्यांकनका आधारमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

अनुगमन उपसमितिमा अध्यक्ष हेराकाजी महर्जन संयोजक वरिष्ठ उपाध्यक्ष दीपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहने गरि उपसमिति गठन गरेको छ ।

उपसमितिले एकहप्ताभित्र रिपोर्ट तयार गरि वैशाख १२ गते बस्ने कार्यसमितिको बैठकमा जिल्लाहरूको तदर्थ समिति गठनको लागि प्रतिवेदन पेश गर्नेछन् ।

नेपाल बुद्धिचाल महासंघले मंगोलियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाललाई सहभागीता गराउने निर्णय गरेको छ ।

काजकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको तर्फबाट रजत पदक जित्न सफल निहाना श्रेष्ठलाई बधाई तथा सम्मान गर्ने निर्णय गरेको छ ।

आसन्न राष्ट्रिय प्रतियोगिताका लागि एफए सोराज ताम्राकार तथा भुपेन्द्र निरौलालाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गर्ने समेत निर्णय गरेको छ ।

Published : Monday, 2026 April 20, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया