कांग्रेस बैठकमा उपसभापति खड्का र महामन्त्री थापाद्वारा प्रस्तावहरू प्रस्तुत (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू पेश गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको कार्यसमितिको बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार महामन्त्री थापाले बैठकको एजेण्डा प्रस्तुत गरेका छन् । थापाले क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा पनि बैठकलाई जानकारी गराएका छन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले उपसभापति खड्का र महामन्त्री थापाद्वारा प्रस्तुत प्रतिवेदनहरूमा प्राथमिकताका आधारमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताए । उनले अधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूका विषयमा पनि निर्णय हुने बताए । उनले बैठक ४/५ दिन लम्बिने पनि बताएका छन् ।

‘महामन्त्री गगनकुमार थापाले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू बलबहादुर के.सी., शेखर कोइराला, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा.गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका छन् ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको मुख्यसचिव पौडेलले बताएका छन् । कार्यसमितिको बैठक मंगलबार असार १७ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Monday, 2025 June 30, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया