दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस, कांग्रेस नेतृ सिंहद्वारा उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ को आयोजनामा दोस्रो मङ्गलादेवी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

बुधबार नेपाली कांग्रेसकी नेतृ सृजना सिंहले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । वडा नं. २७ का वडाध्यक्ष योगेशकुमार खड्गी लगायतका नेता र खेलाडी, प्रशिक्षक, कर्मचारीको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

निःशुल्क दर्ता गरिएको प्रतियोगितामा नेपालका शीर्षस्थ खेलाडीहरू सहित जम्मा ७६ खेलाडीहरूले सहभागिता जनाएका छन् । क्लासिकल विधामा सञ्चालन भइरहेको प्रतियोगितामा खेलाडीलाई प्रत्येक खेलका लागि ६० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिमेन्टको समय प्रदान गरिएको छ ।

कूल ९ चरणको खेल मध्ये पहिलो दिन दुई चरण सम्पन्न भएका छन् । अन्नपूर्ण स्कुलमा सम्पन्न दोस्रो चरणको खेलपछि कुशल बेलबासे र आभाष तिवारीले दुई–दुई अंक जोड्दै संयुक्त शीर्ष स्थानमा उक्लिएका छन् ।

प्रतिस्पर्धामा २० जना खेलाडीले समान दुई अंक जोडी एफएम क्षितिज भण्डारी, सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाशचन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, धिरेन राई र जनार्दन शर्मा शीर्ष १०औँ स्थानमा रहेका छन् ।

यसैगरी, कमल श्रेष्ठ, सीएम नवीन टण्डुकार, महेन्द्रकुमार साम्बा हाम्फे, सन्देश श्रेष्ठ, सुशील सुवेदी, विनय थापा, सुरज सिंह, सम्यक श्रेष्ठ, कृष्णप्रसाद सिग्देल र राजकुमार राई समान अंकसहित शीर्ष २० स्थानमा रहेका छन् ।

महिला खेलाडीहरूको समूहमा ओमन नेशनल च्याम्पियन सिन्दिराज जोशी, विनिता कपाली, प्रतिमा बास्कोटा, अग्रता आचार्य, रिया श्रेष्ठ, कुसुम घिसिङ र शान्ति धिमालले समान १–१ अंक जोड्दै अग्रता बनाएका छन् ।

आयोजक समितिका अनुसार तेस्रो चरणको खेलदेखि प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ ।

काठमाडौं महानगरपालिका वडा नं. २२ द्वारा गत महिना आयोजित अन्तर वडा टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा वडा नं. २७ का खेलाडीहरू महेश्वरलाल डंगोल, राजेन्द्र बज्राचार्य र विनिता कपालीले उपविजेता भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सृजना सिंहले उपविजयी टिमका खेलाडीहरूलाई उल्लेखनीय प्रदर्शनको कदरस्वरूप जनही नगद ७ हजार रुपियाँ र ट्रयाकसुट प्रदान गर्दै सम्मान गरेकी छिन् ।

नेतृ सिंहलले बौद्धिक चेस खेलमा युवा पुस्ताको सहभागिता दिनानुदिन बढ्दो देखिनु सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने बताइन् ।

२७ नं. वडाका वडाध्यक्ष योगेशकुमार खड्गीले द्वितीय स्थान प्राप्त टिमका सदस्यहरूलाई आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

Published : Wednesday, 2025 June 18, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया