कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार ४, २०८२ मा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक श्री ढुण्डीराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय

(१) नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक श्री ढुण्डLराज शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा २०८२ असार २ गते भएको निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।

(२) विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनु भएको थियो । स्व. शास्त्री— जननायक वी.पी. कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो । अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मनु भएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।

(३) उहाँको निधनबाट नेपाली कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा पुर्‍याउनु भएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रवद्र्धन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नु भएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।

(४) नेता श्री शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक एक मिनेट मौन धारण गर्ने निर्णय गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

(५) उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ –

(क) २०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।

(ख) २०८२ असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने ।

(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।

(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Wednesday, 2025 June 18, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया