एनआरएनएको बालुवाटारको कार्यालयमा अब प्रवेश गर्छौं : अध्यक्ष श्रेष्ठ

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष महेशकुमार श्रेष्ठले एकता महाधिवेशनबाट विधिवत् निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको बताएका छन् ।
आइतबार एनआरएनए अमेरिकाद्वारा टेक्सास राज्यको डालसमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले संघको आधिकारिकताका विषयमा कुनै पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले संघका सबै राष्ट्रिय समन्वय परिषदहरूलाई आफू नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
काठमाडौंको हायात होटेलमा मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल सरकारका प्रतिनिधिहरूको रोहबरमा गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । त्यसैले हामी नै आधिकारिक हौं ।’
अध्यक्ष श्रेष्ठले परराष्ट्र मन्त्रालयले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिलाई नै आधिकारिक कार्यसमिति रहेको भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरिसकेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफूहरू लचिलो भएर अघि बढ्ने बताएका छन् । ‘हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय कार्यालय जान हतार गरेका छैनौं,’ एनआरएनएका अध्यक्ष श्रेष्ठले भने ।
केन्द्रीय कार्यालय, बालुवाटारमा प्रवेश गरेर कार्यभार सम्हाल्ने पक्षमा आफू र सिङ्गो कार्यसमिति रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले अब धेरै समय नकुर्ने बताउँदै केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ ।
अध्यक्ष श्रेष्ठले विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि गरेका छन् । ‘केन्द्रको विवाद मिलाउन सजिलो छ । एनसीसीहरू विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।
उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह गरेका छन् ।
उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ । पहिला विवाद मिलाउनुस् । अनि मुद्दा लिएर आउनुस् भन्छन् ।’
अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि र नेपालको समृद्धिजस्ता विषय अगाडि बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले कार्यक्रमका सहभागीहरूले राखेका जिज्ञासाहरूको जवाफ पनि दिएका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया