अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

लण्डन । दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार लन्डनको लड्र्स मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा ग¥यो । जित दक्षिण अफ्रिकाका लागि २७ वर्षपछिको पहिलो आइसीसी उपाधि हो ।

दक्षिण अफ्रिकाको ऐतिहासिक जितमा एडेन मार्करमले १३६ रनको उत्कृष्ट शतकीय पारी खेले भने कप्तान टेम्बा बाभुमाले ६६ रनको महत्वपूर्ण योगदान दिए ।

काइल भेरिनले ८४ औं ओभरमा मिचेल स्टार्कको बलमा विजयी रन जोड्दै टोलीलाई उपाधि दिलाए ।

डेभिड बेडिङ्घम (२१ रन) र भेरिन (४ रन) अविजित रहे । उत्कृष्ट प्रदर्शन गरेका मार्करम प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २१८ रन बनाउँदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो ।

पहिलो पारीमा अस्ट्रेलियाले २१२ र दक्षिण अफ्रिकाले १३८ रन बनाएका थिए । जसबाट अस्ट्रेलियाले ७४ रनको महत्वपूर्ण अग्रता लिएको थियो ।

यसअघि टोलीले सन् १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

Published : Saturday, 2025 June 14, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया