राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा

राष्ट्रिय समता दिवसको सन्दर्भ र नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरी संसदबाट संकल्प प्रस्ताव पारित गरेको दिन जेठ २१ को विशेष अवसरमा नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागद्वारा आयोजित कार्यक्रम । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको मन्तव्य । २०८२ जेष्ठ २१ गते पार्टी कार्यालय सानेपामा
यस कार्यक्रममा अध्यक्षजी,
उपस्थित साथीहरू !
१. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनैतिक परिवर्तन संगै सामाजिक रूपमा विद्यमान जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न पुर्नस्थापित संसदले २०६३ जेष्ठ २१ गतेका दिन “नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा” गर्ने संकल्प प्रस्ताव पारित गरेको आजको दिन सामाजिक रूपान्तरणको क्षेत्रमा आफैमा महत्वपूर्ण छ ।
२. यस अवसरमा सबै किसिमका विद्यमान भेदभाव र छुवाछूत अन्त्य गरि समतामूलक समाज निर्माण गर्ने प्रतिवद्धता सहित सबै नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
३. राज्य निर्माण र शासन सञ्चालनका विभिन्न कालखण्डमा विश्वका हरेक मुलुकका श्रमजीवी वर्गले कुनै न कुनै किसिमका अन्याय, शोषण र भेदभावको शिकार बन्नु परेको देखिन्छ । पढ्न पाईन्छ ।
४. दक्षिण एशिया र विशेष गरेर नेपालमा हजारौ वर्ष देखि धर्म, प्रथा र परम्पराका रूपमा कायम हुँदै आएको जातीय भेदभाव र छुवाछूतको व्यवहारले हाम्रो समाजलाई विकृत बनाएको छ ।
५. प्रथा, परम्परा र अन्धविश्वासका आधारमा चलेको वंशानुगत निरंकुश शासन व्यवस्थामा दलित समुदायले भोग्नु परेको अमानवीय भेदभावका विरुद्ध हाम्रो पार्टीले नै पहिलो पटक आवाज उठायो ।
६. समाजको निश्चित जाति, वर्ग, समुदायले भोग्नु परेको नारकीय जीवनबाट मुक्ति दिलाउन नै हाम्रो पार्टीले २००७ सालको क्रान्तिमा जातपात मान्दैनौ, संगै बसौ, संगै खाऔं, भात भताहाको खुशी” भन्ने मूलनारा लगाएको थियो ।
७. नेपालको आधुनिक राज्यनै २००७ साल देखि प्रारम्भ भएको हो । किनभने कानूनी राज्यको प्रारम्भ नै त्यही बेला देखि भएको हो ।
८. २००७ सालमा प्राप्त नागरिक हक अधिकारहरू २०१७ सालमै खोसिए र फेरी निर्दलीय पञ्चायती व्यवस्था शुरू भएसँगै जातीय भेदभाव र छूवाछुत पनि झन् झन् मौलाउँदै गयो । जसलाई २०४६ सालको पुनर्स्थापित प्रजातन्त्रले जारी गरेको २०४७ को संविधान र सोही अनुसार बनेका कानूनहरूले क्रमशः भेदभाव अन्त्य गर्दै लगेको हो ।
९. २०४९ सालमा मुलुकी ऐन संशोधन गरि जातीय भेदभाव र छुवाछूतको व्यवहारलाई दण्डनीय बनाउनु, मेरो नेतृत्वको नेपाली कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृति कार्यक्रम ल्याएको, २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन, २०५८ साल साउन ३२ गते जातीय भेदभाव र छुवाछूत पूर्ण अन्त्य गर्ने ८ बुँदे घोषणापत्र संसदमा प्रस्तुत गर्दै २०५८ सालमै राष्ट्रिय दलित आयोग स्थापना गरिएको थियो ।
१०. दलीय व्यवस्थामा दल आफै समावेशी नभए सम्म राज्यका अन्य संरचनाहरू समावेसी हुन सक्दैनन् भन्ने हाम्रो गहिरो बुझाईकै कारण मेरो नेतृत्वमा पार्टीले कर्णाली, दलित, महिला, जनजाति र मधेसीलाई पार्टीका सबै तहमा अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था गरेको थियो ।
११. यही कुरा पछि अन्तरिम संविधान हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा दलित समुदायको हक, जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक जस्ता हकहरू मौलिक हकका रुपमा व्यवस्था गरियो ।
१२. त्यति मात्र होइन २०६२/६३ को परिवर्तनसंगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनर्स्थापित संसदमा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पारित गरियो ।
१३. यत्तिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा सुन्दा अत्यन्तै पीडाबोध हुन्छ ।
१४. यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव हुँदैन भन्ने कुरा विश्वको अनुभवले सावित गरेको छ ।
१५. नेपाललाई विभेदरहित राज्य बनाई समतामुलक समाज स्थापना गर्ने हाम्रो पार्टीको स्थापनाकाल देखिको उद्देश्य पूर्ति गर्न पार्टीले भ्रातृ संस्थाको रूपमा नेपाल दलित संघ गठन गरेको छ भने पार्टीको केन्द्रीय समिति भित्र पनि दलित समुदाय समन्वय र सशक्तिकरण विभाग बनाएका छौं ।
१६. यो विभागले आफ्नो उद्देश्य अनुरूप विभिन्न कार्य मध्ये राष्ट्रिय समता दिवशको सन्दर्भ पारेर आज जेठ २१ गते यो कार्यक्रम गरेकोमा विभागका सबै साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।
१७. देशका सबै समस्याहरूको सहि पहिचान गर्दै समाधान गर्न नेपाली कांग्रेस पार्टी नै सक्षम छ र सधै अग्रसर रहदै आएको छ । जातीय भेदभाव गर्ने व्यक्ति हाम्रो पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेका छौं । यसको कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई अनुरोध गर्दछु ।
१८. वर्तमान संयुक्त सरकारका माध्यम बाट पनि हामीले विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ हामी प्रयत्नशील छौं । यसका लागि दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेद विरूद्ध आवाज वुलन्द गर्ने, र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउने गर्नु पर्दछ ।
१९. आज यो राम्रो र महत्वपूर्ण कार्यक्रम गर्नु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दछु ।
जय नेपाल !
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया