रिसोन थापाले उचाले अन्तर्राष्ट्रिय बुद्धिचालको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्गमुनि बुद्धिचाल स्पर्धामा नेपालका रिसोन थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै विजयी बनेका हुन् ।
पाँच राष्ट्रका १६ विदेशी खेलाडी सम्मिलित १५४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा रिसोनले ८.५ अंक जोडेर पहिलो पुरस्कार नगद २५ हजार, ट्रफी र गोल्डमेडल प्राप्त गरेका छन् ।
१० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिजमेण्ट टाइमिङ्ग थपिने ¥यापिड चेस प्रतिस्पर्धामा नेपाल कै प्रेमकृष्ण महर्जन र भारतका शुभम् कुमारले समान ७.५ अंक बनाएका छन् ।
९ चरणको खेलमा प्रेमकृष्ण महर्जनले डाइरेक्ट इन्काउण्टर र बुकोल्ज्स् ५२ टाइब्रेक प्वाइन्टको आधारमा दोश्रो स्थान ओगट्न सफल बनेका छन् । प्रेमकृष्ण महर्जनले नगद पुरस्कार १५ हजार, सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
भगलपुर चेस एकेडेमी, भारतका शुभम् कुमारले उत्कृष्ट खेल मार्फत ७.५ अंक बटुल्दै बुकोल्ज्स ४५ प्वाइन्टका आधारमा तेस्रो स्थान ग्रहण गरेका छन् । भारतका शुभम कुमारले नगद पुरस्कार १० हजार, ब्रञ्ज मेडल र प्रमाणपत्र प्राप्त गरे ।
काठमाडौंको इटुम्हाल चोकमा सम्पन्न प्रतियोगितामा आठ जना खेलाडीले समान ७ अंक जोडेर रोमाञ्चक नतिजा निकालेका छन् ।
नेपालका बिजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान प्राप्त गर्दै नगद पुरस्कार ७ हजार हात पारेका छन् । नेपालका सुरज सिंले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट बनाएर नगद ६ हजार जितेका छन् ।
फिलिपिन्सका खेलाडी लाउरोन जोन पाउल छैटौं, नेपालका मिसन दहाल सातौं, सिएम भगवतीप्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं स्थानमा रहँदै जनही नगद ५/५ हजार पुरस्कार प्राप्त गर्न सफल बने ।
प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट कोशी प्रदेशका महेन्द्रकुमार साम्बाहाम्फे, मधेश प्रदेशका सुशील चौधरी, बाग्मती प्रदेशका पुरुषोत्तम दुवाल, गण्डकी प्रदेशका सुरजकुमार गैरे, लुम्बिनी प्रदेशका मिलनकुमार रोक्का, कर्णाली प्रदेशका निस्तम मल्ल र सुदूरपश्चिम प्रदेशका जनकराज जोशीले जनही नगद ४/४ हजार पुरस्कार जिते ।
स्थानीयतर्फ नरेश स्थापित प्रथम र शुभनदीप थापा द्वितीय, अनरेटेडतर्फ राजेश राई प्रथम र इङ्ल्याण्डका खेलाडी जोसेफ इनल द्वितीय, सिनियरतर्फ जनार्दन श्रेष्ठ प्रथम र आशानारायण लवट द्वितीय बनेका छन् ।
१८–१७–१६ रेटिङ्गमुनि हर्कबहादुर चोङ्वाङ्ग, गोविन्द खड्का र उज्वल दहाल उत्कृष्ट भए । यपा १८–१६–१४ र १२ वर्षमुनि सम्यक श्रेष्ठ, आदित्य गजुरेल, कसिभ कार्की र दीपन मैनाली उत्कृष्ट ठहरिएका छन् ।
सँगसँगै महिलातर्फ उत्कृष्ट बन्दै शान्ति धिमाल प्रथम भइन् । सिन्दिरा जोशीले द्वितीय पुरस्कार हात परेकी छिन् ।
सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।
समापन समारोहमा अध्यक्ष विनोदकुमार राजभण्डारीले चेस खेल जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बौद्धिक खेल भएको हुँदा सबै उमेरका व्यक्तिले सिक्नु पर्ने बताएका छन् ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजू, एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया