प्रचण्डको मर्निङ वाकको अर्थ र महत्व

तिलक मल्ल ‘क्षितिज’
विषय प्रवेश
मर्निङ वाक एक दिनचर्या हो । स्वस्थ स्वास्थ्यको चक्रभित्र पर्ने यो अनिवार्य विषय हो । खासगरी मान्छेको लागि स्वस्थकर खाना, स्वस्थकर पहिरन जरुरी नै हुन्छ । यसका अलावा शरीरलाई भौतिक परिश्रमद्धारा पनि सन्तुलित गर्न जरुरी नै हुन्छ ।
खासगरी, स्वास्थ्य विज्ञको शब्द सापटी लिने हो भने स्वास्थ्य कस्तो बनाउने ? आफैंमा निर्भर हुन्छ । यहाँ चर्चा गर्न खोजिएको विषय चाँहि प्रचण्डले गर्ने मर्निङ वाकको रहेको छ ।
प्रचण्डको मर्निङ वाक– ७० वर्ष कटिसक्नुभएका प्रचण्ड अहिले पनि तन्दुरुत देखिनुहुन्छ । करिब तीन पटक प्रधानमन्त्री भइसक्नुभएका र तीन–चार दशकदेखि माओवादी पार्टीलाई हाँकिरहनुभएका उहाँले देशमा उथलपुथलकारी आन्दोलनको नेतृत्व गरेकोसमेत सर्वविदित्तै छ ।
उथलपुथलकारी आन्दोलन मात्रै होइन, त्यसलाई शान्तिपूर्ण मार्गमा समेत स्थापित गर्न उहाँलाई सफल नै मान्नुपर्छ । पार्टीको आन्तरिक जीवनमा ठूल्ठूल्ला उथलपुथल, गठन–विघटन, एकता र विभाजन र ऐतिहासिक उतारचढावको समेत सहजै नेतृत्व गरेको कुरा प्रष्टै छ ।
मुख्य गरेर पारिवारिक तनाव जेठी छोरी, एक मात्र छोरा र पत्नी वियोग व्यहोरेर तङ्गिरिएका प्रचण्ड निजी जीवनमा पनि असहज अवस्थाको सामना गरिरहनुभएकै छ । समग्रमा आन्तरिक र बाह्य जीवनका सबै सुखद्, दुखद् पर्खालहरुमा हेलिनुभएका उहाँ हाल नेपाली राजनीतिको पनि प्रमुख पात्रमा गनिनुहुन्छ ।
तत्काल मर्निङ वाकको ब्राण्ड प्राप्त प्रचण्ड त्योभन्दा अगाडि आफ्नो निवासमा अंगरक्षक र सचिवालयको टिमसँग ब्याडमिटन र टेबुल टेनिस खेल्ने गर्नुहुन्थ्यो ।
प्रचण्डको मर्निङ वाक अभियान र कार्यक्रम– निरन्तर देश दौहाडामा निस्किरहनु हुने प्रचण्ड जहाँ जानुहुन्छ, त्यहाँ मर्निङ वाक गरेको सामाजिक सञ्जालमा आइरहन्छ ।
मर्निङ वाकको सन्दर्भमा उहाँ भन्नुहुन्छ, “मर्निङ वाकले युवाहरुलाई प्रेरित गरेको छ ।” अझ थप्नुहुन्छ, “यसले स्वस्थ हुन मात्र होइन, परिश्रमिक र जागरुक हुनसमेत मद्दत् गर्दछ । तत्काल यो एउटा अभियान र कार्यक्रम पनि हो ।”
त्यसैले, उहाँ झापा हुँदै कञ्चनपुर, डडेल्धुरा हुँदै जाजरकोट, रुकुम, बागलुङ, पर्वत र कास्कीसम्म यही स्प्रिडमा आफ्नो स्फूर्ति प्रकट गरिरहनु भएको छ । उहाँ जहाँ पुग्नुहुन्छ अगाडि र पछाडि पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, युवा र स्थानीयहरू समेत असिनपसिन गर्दै हिँडिरहेको देख्न सकिन्छ ।

प्रचण्डको मर्निङ वाकको अर्थ– माथि उल्लेख गरिसकिएको छ कि स्वस्थ, तन्दुरुत, मानसिक रुपमा प्रफूल्ल बन्न मान्छेभित्रको नकारात्मक धारणालाई सकारात्मक धारणामा बदल्नसमेत मर्निङ वाकले भूमिका खेलिरहेको हुन्छ । यो कुनै नौलो कुरा त होइन । समकालीन नेपालको मुख्य नेताहरूमध्येका एक जना नेताको हैसियतमा भएको अभियानले व्यापक अर्थ राख्दछ ।
जबकी ठूलो नेता बन्नु भनेको हिँड्डुल नगर्नु, आफ्नो हातबाट सिन्को पनि नभाँच्नु, उस्तै परे अर्कैले खुवाइदिने, अरुले नै चुटाइदिनेसमेत हुनसक्ने नेपाली संस्कारजस्तो देखिने सन्दर्भमा आफ्नो शरीरै समाल्न नसक्ने नेताहरू, आफ्नो शरीर थाम्न नसकेर सहयोगीहरूले वरिपरि समातेर तलमाथि गराउनुपर्ने हामीले देखेकै छौं ।
शैय्यन कक्षबाट उठाउन पनि सहयोगी बोलाउनुपर्ने समकालीन नेताहरूका अगाडि प्रचण्डले गर्ने मर्निङ वाकको अर्थ गहिरो नै रहेको छ । महामहिम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले पनि मार्शल आर्ट खेल्नुहुन्छ । उहाँले त प्रतिस्पर्धाहरूमा (स्पाइरिङ्गमा) समेत भाग लिने गर्नुहुन्छ । महामहिम चिनियाँ राष्ट्रपति सीले समेत नियमित कडा एक्सरसाइज र कृषि क्षेत्रमा भाग लिनुभएको पाइन्छ ।
सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक दिन बिहान नियमित योगा र प्रार्थना गर्नुहुन्छ । त्यसैले, प्रचण्डले गर्ने आफ्नो दैनिकको मर्निङ वाकले यो देशका सबैलाई शारीरिक तथा राजनैतिक जागरण पैदा गरेको छ ।
प्रचण्डको मर्निङ वाकको महत्त्व– सामान्य काम हुँदाहुँदै पनि यसको दुरगामी महत्व रहेको छ । खासगरी अस्वस्थहरू, आफ्नो शरीर उठाउन नसक्नेहरु र मान्छे नै नचिन्नेहरूले पार्टी हाँकिरहेका छन्, सरकार चलाइरहेका छन् । र, दुई पाईला हिँड्न सक्दैनन् भन्नेहरूका लागि यो मर्निङ वाकको महत्व निकै छ ।
समकालीन पार्टीका नेताहरूमा केही ऊर्जा, केही तागत, केही सोच, केही नवीनता भएको प्रचण्ड नै हुन् भन्ने कुरा उहाँको दिनचर्याको रुटिनबाट स्थापित भएको छ । यसले देशका युवा, प्रौढ, वयस्क र वृद्धहरूलाई समेत ऊर्जा थपिरहेको छ ।
यसबाट प्रष्ट हुन्छ कि प्रचण्ड अझै केही नयाँ गर्न चाहनुहुन्छ, केही क्रमभङ्ग वा उथलपुथल गर्न चाहनुहुन्छ र यो देशमा उहाँले कल्पना गर्नुभएको स्वाधीन र समुन्नत नेपालमा पुग्न चाहनुहुन्छ । जसको रिहर्शल भइरहेको छ । अब निष्कर्षमा भन्न सकिन्छ कि यो मर्निङ वाक मात्र होइन, यो एउटा मिसन, भिजन र समाजवादी नेपाल निर्माण गर्न गरिएको प्रयत्न र कार्यक्रम हो ।
(लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्)
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया