ब्लडमै खेल भएका कांग्रेसका मन्त्री, केन्द्रले ल्याउन नसकेका खेलकुदका कार्यक्रम बागमती ल्यायो

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा युवा तथा खेलकुद क्षेत्रमा पूर्वाधार विकाससँगै प्रशिक्षण तथा व्यवसायिकताका विषयहरू समेटेको छ ।

बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, खेलकुदका गतिविधि, प्रशिक्षण तथा युवा उद्यमशीलताका विषयहरू समेटेको छ ।

बागमती प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादनको लागि खेलाडी उत्पादन प्रत्येक निर्वाचन क्षेत्रमा क्रमिक रुपमा एक निर्वाचन क्षेत्रमा १ रंगशाला १ कबर्ड हल निर्माण गरिनेछ ।

सरकारले ‘स्वास्थ्य तथा अनुशासनका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद पूर्वाधारको विकास र प्रशिक्षणको व्यवस्था गरी प्रतिभावान, व्यवसायिक तथा अन्तर्राष्ट्रिय पदक हासिल गरेका खेलाडीहरूलाई खेल क्षेत्रमा निरन्तरता दिन प्रोत्साहन गर्ने नीति लिएको छ ।

नीति कार्यक्रममा उल्लेख भएअनुसार प्रदेश सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ ।

हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला तथा खेलकुद संरचना र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधारको कामलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ । ‘युवाको सर्वाङ्गीण विकास, राष्ट्र निर्माणको आधार’ अभियानलाई निरन्तरता दिने, युवा वर्गको उद्यमशीलता विकास गर्न आवश्यक तालिम, सीप विकास, रोजगार सृजना गर्ने कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने सरकारको योजना छ ।

स्थानीयस्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्दै प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, खेल पर्यटनको विकासका लागि पर्वतीय खेलसहितका पहिचान गरिएका साहसिक खेलहरूलाई समेत समावेश गर्ने, खेलाडीहरूलाई एन्टी डोपिङसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम र स्वयंसेवक खेलकुद प्रशिक्षक कार्यक्रमलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

उद्यमशीलता, रोजगारी र खेलकुदमार्फत राष्ट्र निर्माणमा युवाहरूको योगदान वृद्वि गर्ने लक्ष्यअनुरुप ‘एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान’ कार्यक्रम सञ्चालन गर्ने, वातावरण तथा पर्यावरणीय संरक्षणमा युवा जनशक्ति परिचालन गर्ने सरकारको योजना छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू खेल क्षेत्रबाट आएको व्यक्ति भएकाले खेलकुदका आवस्यक्ताहरू परिपूर्ति गर्नेगरी आवस्यक विषयहरू नीति तथा कार्यक्रमा समेटेको बताए ।

मन्त्री महर्जनले नीति तथा कार्यक्रमअनुसार नै बजेट आउने भएकाले बागमती प्रदेशले आगामी दिनमा पछाडि फर्केर हेर्नु नपर्ने गरी भौतिक पूर्वाधार र खेलाडी उत्पादनको आधारशीला तयार हुने बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री महर्जनले बागमतीका खेलाडीहरूका लागि अधिकतम कार्यक्रमहरू ल्याउने प्रयास गरेका छन् । केन्द्र सरकारका युवा तथा खेलकुदमन्त्री र मन्त्रालयले ल्याउन नसकेका कार्यक्रमहरू बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री महर्जनले ल्याएका छन् । मन्त्री महर्जन खेलकुद पृष्ठिभूमिका हुन् ।

Published : Wednesday, 2025 May 28, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया