शहीद सुरोज शाक्य स्मृति चेस, ३ चरणका प्रतियोगिता

काठमाडौं । शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२ को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन् ।

बुधबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको हो । प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई टिमको जितमा म्याच प्वाइन्ट २ तथा बराबरीमा म्याच प्वाइन्ट १ प्राप्त गर्ने नियम रहेको स्पर्धामा महानगरका २० वटा वडाले सहभागी जनाइरहेका छन् ।

खेलमा वडा नं. ७ र वडा नं. २५ ले तीनै खेलमा जीत दर्ता गर्दै संयुक्त म्याच प्वाइन्ट ६–६ जोडेर अग्रस्थानमा रहन सफल बनेका छन् ।

प्रतिस्पर्धाका तीन चरण खेल सम्पन्न पश्चात वडा नं. ७ को पहिलो बोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३, दोश्रो बोर्डमा सिएम भगवतीप्रसाद शर्मा ३ र तेस्रो बोर्डमा सजल न्यौपाने व्यक्तिगत २ अंक जोडेका छन् ।

वार्ड नं. २५ को पहिलो बोर्डमा हीराकाजी श्रेष्ठ ३, एफएम रिजेन्द्र राजभण्डारी १ र रिया श्रेष्ठले व्यक्तिगत ३ अंकको योगदान गरेका छन् ।

प्रतियोगितामा वडा नं. २७, वडा नं. ३, वडा नं. १ र वडा नं. २४ ले समान म्याच प्वाइन्ट ५–५ बनाउँदै संयुक्त दोश्रो स्थानमा अट्न सफल भएका छन् ।

वार्ड नं. २७ का खेलाडी राजेन्द्र बज्राचार्य २ दशमलब ५, महेश्वरलाल डंगोलले ३ र विनिता कपालीले व्यक्तिगत २ अंकको योगदान पु¥याएका छन् ।

वार्ड नं. ३ का जेनिश तामाङले २ दशमलब ५, डी.बी. कार्कीले २ र अभिनव पाण्डेले ३ अंकको व्यक्तिगत योगदान गरेका छन् ।

वार्ड नं. १ का विजेश राजकर्णीकारले २, बुद्धि राजकर्णीकारले २ दशमलव ५ र हर्ष बर्धन राठीले ३ अंकको व्यक्तिगत योगदान पु¥याउँदै टिमलाई महत्वपूर्ण स्थानमा राखेका छन् ।

वार्ड नं. २४ का बद्रीलाल नेपालीले ३, पूण्यमान कर्माचार्यले २ दशमलब ५ र स्पर्श सरावगीले व्यक्तिगत १ अंकको योगदान गरेका छन् ।

२२ वडाका जनआन्दोलन शहीद सुरोज शाक्यका नाममा सञ्चालन भएको प्रतियोगिताका विजेताले नगद रु. ५० हजार, उपविजेताले ३५ हजार, तृतीय हुनेले २५ हजार र चौथो हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ प्रत्येक बोर्डका उच्च अंक प्राप्त गर्ने तीन जना खेलाडीले जनही नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौं महानगरपालिका वडा नं. २२ का चर्चित वडा अध्यक्ष चिनिकाजी महर्जन र शहीद सुरज शाक्यका आमा श्रीमती कुलदेवी शाक्यले संयुक्त रुपमा चेसको गोटी चालेर प्रतियोगिताको उदघाटन गरेका छन् ।

कार्यक्रमका सभापति समेत रहेका वडाध्यक्ष चिनीकाजी महर्जनले शुभकामना मन्तब्यमा समग्र खेल क्षेत्रलाई विकास गर्न महानगरका वडाहरूलाई उत्प्रेरणा मिलोस् भनी बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताएका छन् ।

प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार संकटा मन्दिरको प्राङ्गणमा भोलि बिहीबार १० बजेपछि बाँकी रहेका खेल सम्पन्न पश्चात् पुरस्कार वितरण कार्यक्रम गरिनेछ ।

Published : Wednesday, 2025 May 28, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया