पूर्व डीएसपीबाट तत्कालीन गृहमन्त्री नारायणकाजीको कर्तुत् सार्वजनिक

गोविन्द पन्थी, पूर्व डीएसपी

जब नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली एयरपोर्टबाट हट्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधि अगाडि बढायो । शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ नं. पिलरमा डीएसपीको रुपमा नेतृत्व गर्दै थिएँ । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो । तसर्थ एयरपोर्टबाट आएका कागजात ३ नं. पिलरमा आए । उक्त पिलरले ठगी हेर्ने हुँदा स्वभाबिक भयो ।

एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जसको हो उसैलाई फिर्ता दिने कार्य भयो । त्यसबाट अपेक्षित परिणाम नआएपछि तत्कालीन एसपी रविन्द्र रेग्मी सरले एसएसपी सोमेन्द्रसिंह राठौर सरसँग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ नं. पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो । तत्पश्चात मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल्स व्यवसायी, म्यानपावर, होटल र एयरलाइन्स, अध्यागमन, श्रम विभाग र प्रहरीका केही अधिकारीको मिलोमतोमा ठूलो तस्करी संचालित भएको देखिएपछि मैले अनुसन्धान प्रतिवेदन पेस गरेकोमा तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले कसैलाई नछाडि जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल्स, ८ क्स्न्सल्टेन्सी, नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, कीर्ते र संगठित अपराध मुद्दा चलाइएको थियो ।

उक्त मुद्दालाई संगठितमा लैजान हामीले सरकारी वकिलसँग नोकझोँक नै गर्नु परेको थियो । मैले अनुसन्धान गर्दा मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १६ पाने भराउने धम्की पनि नदिइएको हैन ।

कुनै कुरालाई प्रवाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारीको संलग्नता मानव तस्करी भएको र दैनिक डेढ करोडदेखि २ करोड कर्मचारीले लिने गरेको निर्भिकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए । जुन कुरा व्यावसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौर सरको कारणबाट सम्भव भएको थियो । पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए । कतिपय धरौटीमा छुटे ।

उक्त फाइल अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । दुई वर्ष न भयो बल्ल । आशा गरौँ अनुसन्धान हुँदै होला । धेरै दलाल र ठूला तस्करीमा सङ्लग्न दुबई र भारत गएर बस्नु प¥यो । त्यस्तोस्थिति सिर्जना गरिदिएपछि मेरो सरुवा गराउन ठूलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो ? र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २/३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आईजीपी वसन्त कुँवरको जोडबल मै भएको बुझिएपछि एसएसपी सोमेन्द्रसिंह राठौर सरले रोक्न हालका आईजीपी तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो । जसका कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रवि लामेछानेलाई एउटा पत्र लेखे जसको कारण मेरो सरुवा कानून त रोकिएन । किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यहीँ काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्जजनिक गर्नेछु ।

तसर्थ, साँच्चीकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाध बाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानूनी कठघरामा उभिने छ ।

अहिले सहसचिव तीर्थ भट्टराई लगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुखज्यूले ईतिहाँसमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ । यो विषय सुक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ । अवसरलाई सदुपयोग होस् । शुभकामना ।

(लेखक नेपाल प्रहरीका पूर्व डीएसपी हुन्)

Published : Friday, 2025 May 23, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया