सहकारी चेसमा नेपाली खेलाडी अगाडि

ललितपुर । ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रायोजन गरेको दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फुँयाल समान ५ अंक जोडेर शीर्ष स्थान ओगटेका छन् ।

युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईं र आशिषले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफ्नो अनुकुल बनाए ।

स्पर्धामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जन तीन जना खेलाडीले समान ४.५ अंक बनाउँदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन् ।

नेपाल च्याम्पियन रुपेश जैसवाल र क्षितिज भण्डारीबीचको खेल बराबरीमा सकेको थियो । सुरोजले कमल श्रेष्ठ माथि जीत दर्ता गरेका हुन् ।

यसैगरी भारतीय खेलाडी आशुतोषकुमार यादव ४ अंक बटुलेर तेस्रो स्थानमा रहन सफल भएका छन् । उनीसँगै नेपालका अपत्यारिलो खेलाडी राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवतीप्रसाद शर्मा, बद्रीलाल नेपाली समान ४ अंक प्राप्त गरेका छन् ।

प्रतिस्पर्धामा प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्कबहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरु मगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले ४ अंक जोडेका छन् ।

यस्तै महिलातर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली र नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहन सफल भएका छन् ।
प्रतियोगितामा नेपाल र भारतका १२४ जना खेलाडी सहभागी मध्ये विजेताले नगद ४० हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

साथसाथै विजेताले एक वर्षका लागि १० लाख रुपियाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपियाँ नगद पुरस्कार र ७ लाख रुपियाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् ।

तेस्रो हुनेले १५ हजार रुपियाँ नगद र ५ लाख रुपियाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट १०औं स्थान सम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट तीन जना महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । जसमा पहिलो हुनेले ७ हजार, दोस्रोले ६ हजार र तेस्रो हुने महिलाले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नव प्रवेशी अनरेटेड, उत्कृष्ट युवा–१६ (१६ वर्षमुनी), युवा–१८ (१८ वर्षमुनी) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट बीमा खेलाडी लगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यसअघि भएको समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले चेस खेलेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा महासंघका उपाध्यक्ष डिवी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईं, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थिति थियो । प्रतियोगिता २०८२ बैशाख २६ गतेसम्म संचालन हुनेछ ।

Published : Thursday, 2025 May 8, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया