नेपाल पुलिसलाई ४ लाखसहित क्रिकेटको राष्ट्रिय उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भएको छ ।
जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो ।
आर्मीको ब्याटिङमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे । निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। विशाल सुश्लिंगले १८, कप्तान विनोद भण्डारीले ७ रन बनाउन सके ।
राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउँदा मात्र १ विकेट गुमाएको थियो । सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई विपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो । दायाँ हाते मिडीयम पेसर श्रवन यादवले विनोद भण्डारी, नरेन साउद, तुलबहादुर थापा र सुमित श्रेष्ठको विकेट लिँदै पुलिसलाई जित दिलाउन अहम् भूमिका खेले ।
पुलिसको बलिङतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए । चित्र बिस्टले २ विकेट लिँदा विपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट लिए ।
नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो ।
पुलिसको ब्याटिङमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे । कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । दीपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए ।
७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौँ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए । शंकरको विकेटपछि अरुण र श्रवनबीच छैटौँ विकेटको लागि ४३ रनको साझेदारी भयो ।
आर्मीको बलिङतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुलबहादुर थापाले समान २ विकेट लिए । विशाल सुश्लिंग, पवन कार्की र सुमित श्रेष्ठले १/१ विकेट लिए ।
एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पारेको छ । आर्मीले २ लाख रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपियाँ पाए । उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए । उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपियाँ पाए । फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपियाँ पाए ।
एक सातासम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया