कांग्रेस संसदीय दलका निर्णयहरू

वैशाख २०, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा आज शनिबार संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बस्यो । बैठकमा निम्न प्रस्तावहरूमाथि छलफल भई निर्णय भयोे ।

निर्णयहरू

१. नेपाल सरकारले यही मिति २०८२ वैशाख १९ गते सम्माननीय राष्ट्रपतिज्यू मार्फत संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा देशका प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रबर्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको देखिएको हुँदा यस नीति तथा कार्यक्रम प्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव सहित समर्थन गर्ने यो बैठक निर्णय गर्दछ ।

२. नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा प्रस्तुत भएका कार्यक्रम सम्पन्न हुने गरी आगामी आ.ब. २०८२।८३ को बार्षिक विकास कार्यक्रम (बजेट) तयार गर्न नेपाल सकारसँग यो बैठक अनुरोध गर्दछ ।

३. संसद र समितिहरूमा महत्वपूर्ण विधेयकहरु विचाराधिन अवस्थामा रहेका छन् । अतः संघीय संसदको ठूलो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले संसद र यसका विषयगत समितिहरूमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प गर्दछ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक कांग्रेसका सम्पूर्ण माननीय सदस्यहरूलाई संसद र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक सदैव क्रियाशील रहन निर्देश गर्दछ ।

४. हालै मात्र नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच २०८२ असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको छ । उक्त सहमति बमोजिम कार्य गर्न नेपाली कांग्रेस संसदीय दल प्रतिबद्ध छ ।

६. यही वैशाख ९ (२२ अप्रिल, २०२५) मा भारतको कश्मीरको पहलगामा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जनाको क्रुर हत्या भएको घटनाको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । आतंकवादीद्वारा घटाईएको अमानवीय घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भर्सना एवं निन्दा गर्दै हमलामा परी जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।

७. यही वैशाख १८ (१ मे, २०२५) को बेलुका भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै उक्त दुःखद घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान गराउन आवश्यक कुटनीतिक पहल गर्न तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि नेपाल सरकारसँग यो वैठक माग गर्दछ ।

शोक प्रस्ताव

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं संविधान सभा सदस्य माननीय तीर्थराम डंगोलको गत १२ गते शुक्रबार राति ७७ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भयो । उहाँ विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहनु भएका स्वर्गीय डंगोल वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय डंगोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य हुनुहुन्थ्यो । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उहाँले जनआन्दोलनको नेतृत्व गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरुका क्रममा उहाँले पटक–पटक जेल जीवन समेत बिताउनु भएको थियो । स्वर्गीय डंगोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

राजनीतिक साथै सामाजिक क्षेत्रमा समेत सदैव सक्रिय रहँदै आउनु भएका नेता डंगोलको निधनबाट नेपाली कांग्रेसले एक कुशल राजनीतिज्ञ, समाजसेवी, अग्रज र एक अनुभवी व्यक्तिलाई गुमाएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

जय नेपाल !

श्यामकुमार घिमिरे
प्रमुख सचेतक

Published : Saturday, 2025 May 3, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया