हङकङले नेपाललाई निरासा बनाइदियो

काठमाडौं । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको छ । शनिबार ओमानको अल अमेरतको मैदान बी मा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जसलाई हङकङले ३ रन र चारजना खेलाडी बाँकी छंदै पूरा गर्‍यो ।

लिग चरणमा सबै चार खेल जित्दासम्म नेपाल एसीसी प्रिमिअर कपको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो ।

खेलाडीहरूको स्तरीय प्रदर्शनको प्रशंसा भइरहेको थियो । दीपेन्द्र सिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपाली टोलीको चर्चा थप चुलिएको थियो । नेपालले लिग चरणमा भने हङकङलाई ८ विकेटले सहजै पराजित गरेको थियो ।

हङकङसँग पराजित भएपछि टोलीको एसीसी इमर्जिङ टीम्स एशिया कप खेल्ने यात्रा पनि रोकिएको छ । प्रतियोगिताको प्रबल दाबेदार टोली नेपाल खाली हात फर्किनु परेको छ ।

प्रतियोगिताको विजेताले अर्को वर्ष हुने टेस्ट राष्ट्रसँगको एसिया कपमा छनोट हुनेछ । शीर्ष तीन टोलीले एसियाको टेस्ट राष्ट्रहरूको ए टोलीसँग खेल्ने तालिका छ ।

टस जितेर नेपालले अल अमेरतको मैदान बी मा ब्याटिङ रोज्यो र २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो ।

जवाफमा ओपनर अंशुमन रथको ब्याटिङको मदतमा हङकङले ३ बल बाँकी छँदै ६ खेलाडी गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

अंशुमनले ५० बल खेलेर अविजित ६५ रनको अर्ध शतकीय पारी खेलेका थिए । ओपनिङमा आएका उनी खेल जिताउन्जेल क्रिजमा टिकेका थिए ।

प्रतियोगिताभर विकेट लिन नसकिरहेका सोमपाल कामीले एकपछि अर्को विकेट लिएर विपक्षीलाई दबाबमा राखेका थिए ।

कामीले ओपनर यासिम मोर्ताजा (९ रन), कप्तान निजाकत खान (३ रन) र हङकङका सबैभन्दा महत्त्वपूर्ण ठानिएका खेलाडी बाबर हायात (२६ रन) लाई पवेलियनको बाटो देखाएका थिए ।

दीपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिँदै हङकङलाई रोक्ने प्रयास गरे । अंशुमनले ब्याटिङमा एकातर्फ बलियोसँग जमेपछि नेपाली बलरहरूको प्रयास पर्याप्त हुन सकेन ।

कुशल भुर्तेलले फेरी एकपटक समर्थकहरूलाई निराश बनाउने क्रममा खेलको दोस्रो बलमा शून्य रनमा आउट भए ।

नेपालको खराब ब्याटिङको क्रम त्यसपछि पनि रोकिएन । अस्वाभाविक रूपमा प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए ।

निकै अनियन्त्रित देखिएका कामीले जथाभाबी ब्याट घुमाउन थालेको देखिएपछि उनी तेस्रो ओभरमा १२ रन बनाएर आउट भए । क्रमशः पाँचौँ ओभरमा आशिफ शेख (५ रन) बाहिरिए ।

आठौँ ओभरमा रोहित पौडेल (२१ रन) र १२औँ ओभरमा कुशल मल्ल (१३ रन) बाहिरिए । मध्य क्रम सम्हालिएको जस्तो देखिए तापनि रन भने बनिरहेको थिएन ।

Published : Sunday, 2024 April 21, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया