प्रचण्ड र सुमार्गीको अर्बौं भ्रष्टाचार काण्डबारे सरकार बोल्यो, के हो कुकुल्यान्ड प्रकरण ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को भ्रष्टाचार काण्डप्रति सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बचाउ गरेकी छिन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्री दाहालमाथि लागेको भ्रष्टाचारको आरोप खारेज गरिन् । सरकारको प्रवक्ता समेत रहेकी उनले आरोप लाग्दैमा पक्राउ परे देशमा कोही पनि बाँकी नरहने बताइन् ।

मन्त्री शर्माले ‘कुकुल्यान्ड’मा पुस्तकमा उल्लेखित प्रधानमन्त्री दाहालको नाम भ्रष्टाचारमा जोडिएको विषय अस्वीकार गरेकी हुन् ।

‘कसैमाथि आरोप लाग्दैमा, कसैमाथि काहीँबाट लेख्दैमा पक्राउ गर्दै जाने हो भने हाम्रो देशमा को बाँकी रहने हुन्छ र ?’, शर्माले प्रश्न गरेकी छिन् ।

उनले गल्ती कमजोरी प्रमाणित भए कोही पनि नबच्ने बताइन् । ‘कुकुल्यान्ड’मा पुस्तकमा आएको कुरालाई विषयान्तर नगर्न मन्त्री शर्माले चेतावनी दिएकी छिन् ।

‘कुकुल्यान्ड’ पुस्तकमा विवादास्पद व्यापारी अजेयराज सुमार्गीसँग मिलेर हेलो नेपाल टेलिकममा प्रधानमन्त्री दाहालको अर्बौ लगानी रहेको रहस्य बाहिर ल्याएको छ ।

दाहालले सुमार्गीमार्फत अबैध सम्पत्ति लुकाउने गरेको लगायतका आरोप कुकुल्याण्ड पुस्तकमा उल्लेख छ ।

सरकारकी प्रवक्ता समेत रहेकी माओवादी नेतृ शर्माले दाहालमाथि लागेको भ्रष्टाचारको आरोपमा पहिलो पटक प्रतिक्रिया दिएर अस्वीकार गरेकी छिन् ।

के हो प्रचण्डको कुकुल्यान्ड भ्रष्टाचार काण्ड ?

‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापनादेखि शेयर खरिदबिक्री, नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री दाहाल, विवादित व्यवसायी अजेयराज सुमार्गी र पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह समेत जोडिएको देखाएको छ ।

कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा कसरी अर्बपति भए भन्ने पुस्तकमा उल्लेख छ । ‘कुकुल्याण्ड’ले नेपालमा टेलिकम भ्रष्टाचारको ठूलो काण्ड लेखेको छ ।

बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब ‘कुकुल्याण्ड’ हो । ‘कुकुल्याण्ड’ केही हप्ता पहिले बजारमा आएको छ ।
विभिन्न देशमा भएका टेलिकम भ्रष्टाचारको नालीबेली उत्खनन् गरिएको ‘कुकुल्याण्ड’मा नेपालको टेलिकम भ्रष्टाचारका विभिन्न प्रसङ्गहरूमा सविस्तार चर्चा गरिएको छ ।

नेपालमा भएको टेलिकम भ्रष्टाचारमा प्रधानमन्त्री दाहालको नाम पनि उल्लेख छ ।

तत्कालीन समयमा सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका माओवादी नेता, माओवादीको शिविर घोटाला काण्ड र माओवादीको आडभरोसामा उदाएका व्यवसायी अजेयराज सुमार्गी, तत्कालीन राजपरिवार र निजी टेलिकम कम्पनी सञ्चालकहरूको प्रसङ्गको व्याख्या गरिएको छ, पुस्तकको मिस्टर एक्सवाई शीर्षकमा ।

तीन पटक देशको प्रधानमन्त्री भएका दाहालसँग राजावादीहरूको संगतमा रहेका अजेय सुमार्गीको निकटता, हेलो नेपालको स्थापना, टेलियासोनेराको हेलो नेपालमा भएको लगानी र एनसेल खरिदबिक्री प्रकरणमा उनीहरूको संलग्नता पुस्तकमा देखाइएको छ ।

टेलियासोनेराको सल्लाहकारको रूपमा काम गरेका टेलिकम बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा सुमार्गीले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा किताबमा उल्लेख छ ।

बिचौलिया अमेर्सीले सुमार्गीलाई कसरी बिचौलियाको रूपमा प्रयोग गरेर माओवादी र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावमा पारे भन्ने विषय रोचक ढंगले रिपोर्टिङ शैलीमा प्रस्तुत गरिएको छ ।

राजदरबार हत्याकाण्डपछि काठमाडौंबाट ६ घन्टाको दूरीमा रहेको हेटौंडाबाट आएका अजेय सुमार्गी र ज्ञानेन्द्रका ज्वाइँको भेटघाट हुन्छ । सुमार्गीले राजदरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारीको सम्पत्ति नयाँ राजा ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सहयोग गर्छन् ।

त्यसबाहेक कतिले सुमार्गीको भूमिका राजपरिवारका सदस्यलाई सहयोग गर्ने, कतिले गोप्य कागजातहरू मिलाउने भएको उल्लेख गरेको विषय पुस्तकमा समेटिएको छ ।

सुमार्गीको हिमचिम राजदरवारसँग झन् प्रगाढ भएको पुस्तकले बताएको छ । त्यो सम्पत्ति ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सफल भएपछि राजाका ज्वाइँको कृपाले सुमार्गीको उदय टेलिकम व्यवसायीको रूपमा हुन्छ ।

पुस्तकमा अजय सुमार्गी टेलिकम व्यवसायी हुनुअघि उनको आर्थिक हैसियतको बारेमा पनि चर्चा गरिएको छ । अजेयका बुबाको चुनढुङ्गा उद्योग थियो । मोटरसाइकल दुर्घटनामा उनका बुवाको मृत्यु भएपछि सुमार्गीको भविष्यमा ठेस लाग्यो ।

सुमार्गीलाई प्रहरीले अवैध काठ ओसारपसार गरेको आरोपमा केही समय पक्राउ गरेर छोडेको प्रसङ्ग पुस्तकमा छ । काठ ओसारपसार मामिलामा प्रहरीले पक्राउ गरेपछि मात्रै सुमार्गी राजधानी छिरेका थिए । त्यसपछि उनको आर्थिक हैसियत आश्चर्यजनक रूपमा चुलियो ।

अजेयराजले ‘उनकी आमा साँझको खाना पकाउनु अघि पैसा नपुगेर किन्न खोजेको मासु नभई बोइलर चिकेन किन्थिन्’ भनेर किताबमा लेखेका छन् । यसरी ‘बोइलर चिकेन’बाट अजेय कसरी बिलिनियर अर्थात् अर्बपति भए भन्ने प्रसङ्ग जोड्न उनको पुरानो अवस्थाको व्याख्या गरिएको छ ।

सुमार्गीलाई चिन्ने केही राजावादी सुरुमा उनले ज्वाइँका अतिथिहरूलाई स्वागत गर्ने काम गरेको बताउँछन् । केहीले ज्वाइँको लागि सम्पत्ति नामसारी र गोप्य कागजात मिलानमा उनले काम गरेको बताएको पुस्तकमा उल्लेख छ ।

युद्धका बेला बैंक लुटपाटमा संलग्न भएका माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरेको उल्लेख छ । विस्तारै सुमार्गी माओवादी नेतृत्वसँग नजिक भए । त्यो समय नेपालमा लगानी गर्न चाहने पश्चिमा टेलिकम कम्पनीहरूले अध्ययनका लागि खुफिया परिचालन गरेका थिए ।

नेपालमा टेलिकम उद्योग उदाइरहेको समय थियो त्यो । पश्चिमा खुफियाहरूले त्यो बेला माओवादी नेतृत्वको विश्वासिलो सम्पर्क सूत्रका रूपमा सुमार्गीलाई भेट्टाएको प्रसंग पुस्तकमा उल्लेख छ ।

काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उनको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसङ्गहरू पुस्तकमा छन् । प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उनका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ ।

सुमार्गीले राम्रो बोतल राख्छन् । आफ्ना मालिकको लागि रक्सीको खोलो नै बग्छ भन्ने कुरा पुस्तकमा लेखिएको छ ।

सुमार्गीको अपत्यारिलो आर्थिक हैसियत परिवर्तनप्रति सबैले शंका गरिरहेको बेला माओवादीले उनलाई कालो धनतर्फ धकेलेको र त्यहीबेला उनको भेट भविष्यका कल्याणकारी मोहम्मद अमेर्सीसँग भएको पुस्तकमा उल्लेख छ । सुमार्गीले पछि उनलाई प्रचण्डसँग भेट गराएका थिए ।

आफू सहित टेलियासोनेराका कार्यकारी प्रमुख लार्स नेइबर्ग र उनका दुई जना विश्वासपात्र अनि एकजना धनी नेपाली साझेदारले नेपाली प्रधानमन्त्री दाहालसँग भेटेको प्रसङ्ग उल्लेख गरेका छन् ।

त्यतिबेला अजेय सुमार्गीको हेलो नेपाल दर्ता भइसकेको थियो । राजदरबारको शक्ति कमजोर भएपछि सुमार्गी माओवादीका प्रिय भएका थिए ।

सन् २००९ मा दाहाल आफैंले माओवादी प्रभाव क्षेत्रको रूपमा रहेको मध्यपश्चिम क्षेत्रमा टेलिकम कम्पनी हेलो नेपाल उदघाटन गरेका थिए ।

सुमार्गीलाई मोबाइल कम्पनी सञ्चालनको लाइसेन्स पनि माओवादीको पहिलो सरकारका सञ्चार मन्त्री (हाल सुनकाण्डमा प्रहरी अनुसन्धानमा रहेका कृष्णबहादुर महरा)ले दिएको प्रसङ्ग पुस्तकमा छ ।

दुई वर्षमा जम्मा ८९ हजारले मात्रै हेलो नेपालको सिम लिए । त्यतिबेला हेलो नेपालको उपस्थिति बजारमा एक प्रतिशत पनि हुन सकेन ।

‘सबै जोड्दा पनि हेलो नेपालको मूल्य ६० मिलियन डलर भन्दा बढी थिएन । टेलियासोनेराले चार गुणा बढीमा किन्न खोजिरहेको थियो । किनकि अजेय सुमार्गीले निकै बहुमूल्य चिज बेचिरहेका थिए’, पुस्तकमा लेखिएको छ ।

‘यदि उनीहरूले उसको कम्पनी किनेनन् भने मिस्टर सुमार्गी हामीविरुद्ध लागेर एनसेलको विरुद्धमा लविङ गर्न सक्छन्’, सुमार्गीको राजनीतिक सम्पर्क र सहयोगबारे उल्लेख गर्दै अमेर्सीले डिल गरिरहेको युरेसियाको प्रमुख टेरो किविसारीलाई भनेका छन् ।

टेरोले सुमार्गीलाई ‘माओवादीसँग सम्पर्क भएको एक स्थापित व्यवसायी’ भनेर चिनाएको अनि ‘उनलाई तत्कालै ३० मिलियन डलरको खाँचो परेको भनेको’ पुस्तकमा लेखिएको छ ।

टेलियासोनेराको ३० मिलियन डलर तत्कालै ब्रिटिश भर्जिन आइसल्याण्डको कम्पनीमा पठाएको र अजेयले त्यहीं सुरक्षित र गोप्य तरीकाले राखेको तथ्य पुस्तकमा उल्लेख छ । १ महिना पछि अर्थात् २०११ को जुलाईमा ‘सुमार्गीकी श्रीमतीले उनकी दिदीलाई एक मिलियन डलरको तीन चौथाइको चेक थमाएको’ र त्यसको भोलिपल्ट ‘लाजिम्पाटमा रातो रंगको भव्य घर किनेको विषयमा नेपाली पत्रिकामा समाचार प्रकाशित भएको’ पुस्तकमा उल्लेख छ । लामो समयसम्म प्रचण्ड निवास बनेको सोही घरबाट उनले शासन चलाएका थिए । माओवादी पार्टीले घरको विषयमा एक आन्तरिक समिति गठन गरेर छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको लेखकले उल्लेख गरेका छन् ।

केही महिनापछि सुमार्गीले टेलियासोनेराबाट थप पैसा पाएको विवरणमा लेखिएको छ । यसअघि पाएको ३० मिलियन डलर समेत जोडेर कुनै स्क्यान्डिनेभियनका व्यवसायीले ४८ मिलियन डलरमा हेलो नेपालको सेयर किनेको पुस्तकमा लेखिएको छ । त्यो पैसा हेलो नेपालका लागि बैंकहरूले मूल्यांकन गरेभन्दा धेरै थियो । टेलियासोनेरा सुमार्गीले जति बार्गेनिङ गरे पनि पैसा दिन तयार थियो ।

बरजिसले सुमार्गीकै कारण नेपालमा टेलियाको शक्तिको ढोका खुलेको उल्लेख गरेका छन् । सुमार्गीसँग काम गरेकाहरूले माओवादीलाई पैसामा किन्नु नै सुमार्गीको शक्ति भएको बताएको पुस्तकमा उल्लेख छ ।

यदि सुमार्गीले केही गरेर सरकारी अधिकारीलाई मनाउन सकेमा टेलियासोनेरा थप २०० मिलयन डलर दिन सक्ने अवस्थामा थियो । त्यसका लागि सुमार्गीले सरकारी अधिकारीलाई एनसेलको लाइसेन्स नवीकरण गराउन सहयोग गर्ने, सकेसम्म टेलियासोनेराको पक्षमा निःशुल्क लबिङ गर्दिने, कैयौं वर्षको ब्याज मिनाहा गर्ने, फेरि नवीकरण गर्ने र थ्रीजी सेवा सञ्चालनमा सहयोग गरिदिनुपर्ने थियो ।

‘प्रचण्डको सम्पत्ति उनले (सुमार्गीले) आफ्नो नाममा दर्ता गरे । प्रचण्डलाई प्रभावमा राखेर उनको पैसा प्रयोग गर्न सक्षम भए’, पुस्तकमा लेखिएको छ । (विभिन्न अनलाइन संस्करणहरूबाट साभार गरेर कुकुल्याण्ड काण्डबारे लेखिएको छ ।)

Published : Sunday, 2024 April 7, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया