गृहमन्त्री र आइजीपीद्वारा ७ एसपीको करियरमा गम्भीर खेलवाड, झापा-मोरङ-पर्सा-रुपन्देही किन चलेन ?

काठमाडौं । विधि र सुशासनको कुरा गर्ने गृहमन्त्री रवि लामिछानेले ७ जना प्रहरी उपरीक्षक (एसपी)हरूमाथि गम्भीर खेलवाड गरेका छन् ।

लामिछानेको आदेशमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले ७ जना एसपीमाथि गम्भीर प्रश्न उठ्ने गरेर लापरबाही र अन्यायपूर्ण कदम उठाएका छन् । लामिछानेको आदेशलाई आफू अनुकूल व्याख्या गरेर आइजीपी कुँवरले ७ जना एसपीको करियर ध्वस्त पार्ने कार्य गरेका छन् ।

चैत १६ गते शुक्रबार आइजीपी कुँवरले १६ जना एसपीको सरुवाको सूची निकालेका थिए । तीमध्ये केही एसपीले जिम्मेवारी सम्हालेको दुई महिना पुगेको थिएन ।

गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले प्रहरी नियमावली विपरीत अवधि नपुग्दै एसपीहरूको सरुवा गरेर अन्याय गरेका हुन् ।

प्रहरी नियमावलीको दफा ५० मा सरुवा अवधिबारे उल्लेख छ । दफा ५० को (१) मा ‘कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतया पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिने छैन’ भन्ने उल्लेख छ ।

सरुवा भएका ७ जिल्लाका इञ्चार्ज कसैको पनि १ वर्षे अवधि पुगेको छैन । अवधि नपुगी सरुवा गर्नुपर्ने अवस्था भएमा सरुवाको कारण सम्बन्धित प्रहरी अधिकृतलाई जानकारी दिनुपर्छ । दफा ५० को (२) मा भनिएको छ, ‘अवधि नपुग्दै कुनै प्रहरी कर्मचारीलाई सरुवा गर्नु परेमा सो को कारण उल्लेख गर्नु पर्नेछ ।’

गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले हचुवाको भरमा मन नपरेका एसपीहरूलाई व्यक्तिगत इगो राखेर २ महिना नपुग्दै सरुवा गरेका छन् । २ महिना नपुग्दै वा १ वर्ष नपुगेर सरुवा भएका एसपीहरूका बारेमा उजुरी परेको छभने छानविन गर्नुपर्ने हुन्छ । छानविन पनि गरिएको छैन । सरुवाको कारण पनि खुलाइएको छैन । लामिछाने र कुँवरको नियत ठीक देखिएको छैन ।

गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले अन्यायपूर्ण सरुवा गरेर इञ्चार्जबाट हटाएपछि अब भविष्यमा इञ्चार्जमा जानका लागि एसपीहरूले रुचि देखाउने छैनन् ।

७ जिल्लाका एसपीहरूको सरुवा गर्दैगर्दा झापा, मोरङ, रुपन्देही र पर्साका एसपीलाई किन चलाइएन ? प्रश्न उठेको छ । उनीहरूका बारेमा गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले किन मोलेजा हेरे ? नचलाइएका यी एसपीमध्ये एकजना एसपीको बिगत निकै कहाली लाग्दो छ । उनी सुरक्षित छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) श्यामकुमार राई र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीलाई सबैभन्दा ठूलो अन्याय भएको छ । उनीहरूले इञ्चार्जको जिम्मेवारी सम्हालेको दुई महिना पनि पुगेको छैन । एसपीद्वय राई र ज्ञवालीको फागुन २ गते मात्रै सरुवा भएको थियो ।

जिम्मेवारी सम्हालेको दुई महिनासम्म आफ्नो क्षेत्रको भौगोलिक अवस्थाको अवलोकन, प्रत्येक प्रहरी युनिटको निरीक्षण र ब्रिफिङकै लागि समय बित्ने गर्छ ।

इलाका प्रहरी कार्यालयदेखि जिल्लाभित्र रहेका चौकीसम्मको निरीक्षण र ब्रिफिङ गरेपछि आफ्नो योजना बनाएर प्रहरी प्रमुखहरूले काम गर्दछन् । निरीक्षण ब्रिफिङ सकिन नपाउँदै महोत्तरीका एसपी राई र सर्लाहीका एसपी ज्ञवालीको जिम्मेवारी खोसिएको छ । बिफ्रिङ लिँदालिँदै एसपीद्वय राई र ज्ञवालीको सरुवा गरिएपछि प्रहरी हेडक्वाटर नक्सालमा प्रहरीका उच्च अधिकृतहरूले असन्तुष्टि पोखेका छन् ।

सर्लाहीका एसपी ज्ञवालीले दुई जना भारतीय हतियारधारी अपराधिक समूहलाई इन्काउन्टर गरेर पक्राउ गरेका थिए । पाँच वर्षदेखि न्याय नपाएका व्यक्तिलाई न्याय दिलाएका थिए । २४ घण्टाभित्रै २०२ जना फरार अपराधी पक्राउ गरेर अदालतमा पेस गरेका थिए । चार वर्षीय बालकलाई अपहरण गर्ने भारतीयलाई पक्राउ, १२ वर्षीया किशोरीलाई गर्भवती बनाउनेलाई पक्राउ, करीव २८ लाखसहित हुण्डी कारोबारीलाई पक्राउ गरेका थिए ।

एसपी ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बाग्लुङको प्रहरी प्रमुख हुँदा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलताका साथ सम्पन्न गरेका थिए । बाग्लुङमा विगतका निर्वाचनमा विभिन्न घटना हुँदै आएको थियो । राम्रोसँग कार्यसम्पादन गरेर शान्ति सुरक्षा बनाएको भनेर एसपी ज्ञवालीलाई गण्डकी प्रदेश प्रहरीले पुरस्कार समेत दिएको छ ।

भदौ १५ गते जिल्ला प्रहरी कार्यालय बाराको इञ्चार्ज सम्हालेका एसपी सुरेशराज काफ्लेलाई पनि सरुवा गरिएको छ । उनको पनि १ वर्ष अवधि पुगेको छैन ।

जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै बाँकेका एसपी सुवासचन्द्र बोहराको सरुवा भएको छ । बोहराको असोज २५ बाँकेमा सरुवा भएको थियो ।

Published : Sunday, 2024 April 7, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया