छ सय मेगावाटको दुधकोशी आयोजना समयमा पूरा गर्न सहयोग गर्छौं : सभापति खतिवडा

हलेसी । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ६ सय मेगावाटको दुधकोशी जलविद्युत आयोजनाको काम छिटो पूरा गर्न आग्रह गरेका छन् ।

शनिबार खोटाङको हलेसीमा दुधकोशी जलविधुत् कम्पनी लिमिटेडले र हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको दुधकोशी जलशाययुक्त जलविद्युत् आयोजना परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलविद्युत् आयोजना बिगार्ने मनासयले केही मानिस प्रवेश गरेको हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

उनले भने, ‘दुधकोशी जलविद्युत आयोजना बिगार्ने मनसायले समेत मान्छेहरू छिरेका हुन्छन् । वास्तविक पीडितहरूलाई पहिचान गरेर दह्रो रुपमा राज्य लाग्नुपर्छ ।’

ओखलढुङ्गा र खोटाङका प्रमुख जिल्ला अधिकारीहरूलाई वास्तविक पीडितलाई पहिचान गरेर छिटो निर्णय लिन निर्देशन दिएका छन् । उनले स्थानीया जनप्रतिनिधि, सम्बधित सरोकारवलाहरूसँग बसेर छिटोभन्दा छिटो निर्णयको बाटोमा पुग्न भनेका छन् ।

सभापति खतिवडाले जलासयुक्त दुधकोशी जलविद्युत आयोजना देशकै लागि गौरवको आयोजना रहेको बताए ।

दुधकोशी जलविधुत् आयोजना शुरु हुन लागेकोमा आफू निकै खुशी भएको खतिवडाले बताएका छन् ।

‘आयोजना सफल बनाउन हामी जनप्रतिनिधि निरन्तर लागि रहेका छौं’, उनले भने, ‘काठमाडौं पुग्नेवितिकै प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीसँग हामी ३ जिल्लाका माननीयहरू मुआव्जाको लागि भेटेर अगाडि बढाउन पहल गर्ने छौँ ।’

दुधकोशी जलविद्युत् आयोजनाको मुख्य बाँध खोटाङ र ओखलढुङ्गाको सिमनामा पर्ने रतुवा बजारभन्दा १ किलोमिटर दक्षिणमा निर्माण हुनेछ ।

६ सय मेगावटको मुख्य बिद्युतगृह खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ मा रहनेछ ।

हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले दुधकोशी जलासययुक्त जलविद्युत् आयोजनाले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जनताको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताइन् ।

उनले स्थानीय प्रभावित जनताको मागलाई पनि आफूले विशेष ध्यान दिनेभन्दै सबैको सहयोगमा आयोजना पूरा गर्न सहयोग गर्ने आश्वासन दिएकी छिन् ।

Published : Saturday, 2024 April 6, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया