सुष्मा र अस्मिता राष्ट्रिय बक्सिङमा सेमिफाइनल प्रवेश

काठमाडौं । लुम्बिनीकी सुष्मा तामाङ र कर्णालीकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा भएको महिला ५० केजीमा सुष्माले मधेशकी मनीषा राईलाई हराउँदै अन्तिम चारको स्थान पक्का गरेकी हुन् । अस्मिताले एपिएफकी सन्जुमाया थिङलाई क्वार्टरफाइनलमा हराइन् ।

महिला ५४ केजीमा गण्डकीकी सोनिया बडुवालले सुदूरपश्चिमकी निर्मला ऐडीमाथि सहज जित निकालिन् । नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपिएफकी नाङ्जा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेकी छिन् ।

महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दीक्षा राईलाई पाखा लगाउँदै अन्तिम चारको स्थान पक्का गरेकी छिन् । ५७ केजी तौल समूहमै कोशीकी नारिका राई पनि अन्तिम चारमा पुगेकी छिन् ।

प्रतियोगिताको महिला ६० केजीमा बागमतीकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारीलाई हराउँदै सेमिफाइनल स्थान पक्का गरेकी छिन् । एपिएफकी संगीता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्तीमगरलाई पन्छाउँदै सेमिफाइनलमा स्थान बनाइन् ।

महिला ६६ केजीमा सुदूरपश्चिमकी सञ्जिता चौधरीले बागमतीकी तृष्णा गुरुङलाई पाखा लगाइन् । एपिएफकी विनिता थापामगरले कोशीकी नुमा सावाडेनलाई अंकका आधारमा हराइन् ।

महिला ७५ केजीमा लुम्बिनीकी जुनमाया थारूले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन् । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगू पनि सेमिफाइनलमा पुगिन् ।

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिस साहीलाई पन्छाउँदै अन्तिम चारमा पुगे । यस तौल समूहमा अन्य तीन खेलाडी बुधबारै सेमिफाइनलमा पुगेका थिए ।

पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बालाई हराए । आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङलाई निराश पार्दै सेमिफाइनल स्थान सुरक्षित गरेका छन् ।

Published : Friday, 2024 March 29, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया