आईजीपी अर्यालद्वारा लनटेनिसका विजेताहरूलाई पुरस्कार प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले १२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०का विजेताहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

शुक्रबार प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा अर्यालले विजयी टिम तथा खेलाडीहरूलाई शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरेका हुन् ।

अर्यालले प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरेका छन् ।

अर्यालले राज्यप्रदत्त महत्वपूर्ण जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्र विकासका लागि संगठनले आफ्नो स्थापना कालदेखि नै विभिन्न खेलकुद गतिविधिहरू निरन्तर रुपमा संचालन गर्दै आइरहेको बताए । उनले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरूप्रति आभार प्रकट गरेका छन् ।

उनले खेलकुदले संगठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूले उच्चस्तरको अनुशासनसहित उत्कृष्ट खेल कला प्रदर्शन गर्दै आफ्नो प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने उनले बताएका छन् ।

लनटेनिस प्र्रतियोगिताको पुरुष एकलतर्फको खेलमा प्रदीप खड्काले रितिक रानालाई ६–४, ३–६ र ६–० ले पराजित गरेका छन् ।

महिला एकलतर्फ अभिलासा विष्टले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधी जितेका छन् ।

मिक्स डबलमा रितिक राना र अभिलासा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधी जितेका छन् ।

३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजङ्ग गुरुङ्गलाई ६–३ र ६–० ले उपाधि जितेका छन् ।

३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दीक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् ।

४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ विमल वाईबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् । पूर्वमन्त्री समेत रहेका कमल थापा राप्रपा नेपालका अध्यक्ष पनि हुन् ।

६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङ्गको जोडीले बिक्रम गुरुङ्ग र चन्द्रबहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।

११ वटा इभेन्ट्समा कुल १ सय ६२ जना सहभागी रहेको प्रतियोगिताका खेलहरू नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 March 22, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया