पहिलो टी–२० मा हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङसँग नेपाल पहिलो टी–२० खेलमा ७३ रनले पराजित भएको छ ।

शनिबार हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १३ रन बनायो । नेपाल १६.४ ओभरमा अल आउट हुँदा १३९ रनमा समेटियो ।

नेपालको इनिङमा ओपनर विनोद भन्डारीले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३० र आरिफ शेखले ३८ रन जोड्दा अन्य खेलाडीले दोस्रो अंकमा रन बनाउन सकेनन् ।

हङकङको इनिङ्समा बाबरले सतकीय इनिङ्स खेले । बाबरले ४९ बलमा तीन चौका र १३ छक्कासहित ११० रन बनाए । उनले आकाश चन्दलाई छक्का प्रहार गर्दै सतक बनाए । आकाशले नै कप्तान रोहितबाट बाबरलाई अन्तिम बलमा क्याच आउट गराएका थिए ।

३२ वर्षीय दायाँ हाते ब्याटरले दोस्रो सतक बनाएका हुन् । ५०औं खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध एक सय २२ रन बनाएका थिए ।

अन्सुराथले ३२ बलमा ३९ रन बनाए । उनले दुई चौका र आठ छक्का प्रहार गरेका हुन् । ओपनर मार्टिन कोइटजीले २१ बलमा पाँच चौका र एक छक्कासहित ३१ रन बनाएका हुन् । ऐजित खानले ११ बलमा २१ रन बनाएर अविजित रहे ।

आकाश चन्दले तीन विकेट लिए । उनले ३ ओभरमा २७ रन खर्चिए । यही खेलबाट युवा बलर आकाश चन्दले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।

आरिफ शेख, प्रतिश जिसी र रसिद खानले समान एक विकेट हात पारे । गुल्शन झा, विवेक यादव र सागर ढकाल विकेटविहीन भए । नेपालले आईसिसी टी–२० विश्वकपको तयारीका लागि हङकङसँग खेल खेलेको छ ।

Published : Saturday, 2024 March 9, 3:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया