कांग्रेसकाे निर्णयले बैगुनी माओवादीलाई झट्का

आज मिति २०८०।११।२४ गते नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसी देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल भई निर्णय भयोे ।

निर्णय

१. विगतमा विशेष राजनीतिक अवस्थामा हामी समेत मिलेर गठबन्धन बनाएका थियौं । उक्त गठबन्धनमा नेपाली कांग्रेस सदैव इमान्दारीपूर्वक प्रतिवद्ध रहदै आएको थियो । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढिकरण र संविधानको सार्थक कार्यान्वयन गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने उद्देश्यका साथ गठबन्धनका मूल्य मान्यता र हामी बीचको सहमतिप्रति हामी प्रतिवद्ध थियौं । हाम्रो इमान्दारी, प्रतिवद्धता र सदासयतालाई विश्वासघात गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक गठबन्धन भत्काउने काम गर्नु भयो । निर्वाचन पूर्वनै गरिएको गठबन्धन अकारण भत्काउदा निर्वाचनमा अभिव्यक्त जनमतको घोर अपमान भएको यो बैठक ठहर गर्दछ । उहाँले असत्य, काल्पनिक तथाकथित कारणहरु देखाएर, राजनीतिक बेइमानी गर्दै गठबन्धन भत्काउनु भयो । प्रधानमन्त्रीको गठबन्धन संस्कृति विपरितको अशोभनीय कदमले देशमा अनिश्चितता, अन्यौल बढाएको छ भने मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको छ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ ।

२. उपरोक्त निर्णय नेपालको संविधानको धारा १०० को उपधारा (२) सँग सम्बन्धित भएको हुँदा यो बैठक सम्माननीय सभामुखलाई निर्णयको जानकारी गराउने निर्णय गर्दछ ।

३. नेपाली कांग्रेस संसदीय दलको यो बैठक संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा रही रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गर्दछ ।

४. यो बैठक नेपाली कांग्रेस संसदीय दलका सबै सदस्यहरुलाई संसदमा तदनुरुप काम गर्न र संसदलाई प्रभावकारी बनाउन निर्देश गर्दछ ।

जय नेपाल !

रमेश लेखक
प्रमुख सचेतक

Published : Thursday, 2024 March 7, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया