सम्पन्न महासमिति बैठकको निष्कर्ष सहित विस्तृत विवरण

फागुन ११, २०८०

नेपाली कांग्रेस महासमितिको बैठक, ७ देखि १० फागुन २०८०

सम्पन्न महासमिति बैठकको निष्कर्ष सहित विस्तृत विवरण बारे

प्रेस विज्ञप्ति

१. नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापति श्री शेरबहादुर देउवाले समुद्घाटन गरि १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले,

२. नेपालको राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरू तथा देश, लोकतन्त्र र कांग्रेसका लागि जीवन अर्पित गर्ने सबै पार्टी सदस्यप्रति उच्च सम्मान प्रकट गर्दै,

३. नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलव्धिहरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसात् गरि,

४. नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रूपान्तरण गर्ने प्रण गर्दै,

५ शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,

६. नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिमा निर्माण भएको गठबन्धन सरकारलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्टाचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिक रुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरूलाई समाधान गर्ने जिम्मेवारी वोध गर्दै,

७. मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै,

८. तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिकाप्रति सचेत रहदै,

९. किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पीडितहरूले भोग्दै आएका पीडालाई अभिलम्व समाधान गरि पीडितलाई न्याय दिलाउन सरकारको गंभीर ध्यानाकर्षण गराउँदै,

१०. महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु भएको समसामयीक राजनीतिक प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ । बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रूप दिने गरि तीन वटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ ।

११. राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।। उद्घोषका साथ प्रारम्भ भई उत्साहका साथ सम्पन्न यो बैठकबाट हासिल नवीन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ ।

१२. यो ऐतिहासिक महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य १६५, केन्द्रीय कार्यसमितिका निर्वतमान केन्द्रीय पदाधिकारी एवं सदस्य २६, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट १०५, जनसम्पर्क समितिबाट ९७, संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित १७८०, जिल्ला सभापति ४६, महाधिवेशन प्रतिनीधिहरूबाट आमन्त्रित १५४ जना गरि जम्मा २३७३ जना सहभागी भएका थिए ।

१३. २०८० फागुन ७ गते दिनको १ः०० वजे उद्घाटन गरि स्वदेश तथा विदेशस्थित जनसम्पर्क समितिबाट सहभागी जम्मा २३७३ जना महासमिति सदस्यहरूबीच ८ गते बिहानैदेखि उपरोक्त प्रस्ताव, प्रतिवेदन एवं जानकारी प्रस्तुत गरियो र छलफललाई सहभागितामूलक, प्रभावकारी र परिणाममुखी बनाउन ४ समूहमा (कोशी र सुदूरपश्चिम, मधेश र कर्णाली, बागमती र गण्डकी, लुम्बिनी र भ्रातृ संघ, शुभेच्छुक संस्था एवं जनसम्पर्क समिति) विभाजन गरियो ।

१४. फागुन ९ गते र १० गते बिहान सम्ममा चारै वटा समूहमा घनिभूत छलफल भयो । कोशी र सुदूरपश्चिम प्रदेशका ४८४ जना सहभागी मध्ये १६२, मधेश र कर्णाली प्रदेशका ५१३ जना मध्ये ११८, बागमती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिबाट ४०३ मध्ये १३३ जना सदस्यहरूले आफ्नो धारणा राख्नुभयो ।

१५. सहभागीहरूले प्रस्तुत प्रस्ताव र त्यसका अतिरिक्त आफ्ना स्थानीय सवाल र पार्टी संचालनमा देखिएका विभिन्न अप्ठ्यारा एवं चुनौतिबारे धारणा राख्दै पार्टी संगठनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सुझावहरू व्यक्त गरेका छन् ।

१६. बैठकमा सहभागी मध्ये ६३१ सदस्यहरूले व्यक्त गरेका विचार, धारणा र सुझावलाई अभिलेखीकरण गर्न केन्द्रीय कार्यालय, प्रदेश कार्यसमिति र केन्द्रीय प्रचार प्रसार उपसमितिका तर्फबाट सवै समूहगत छलफलमा ३/३ जनाका दरले टिपोटकर्ताको प्रवन्ध गरिएको थियो । प्राप्त विचार, धारणा र सुझावका आधारमा विभिन्न ८ वटा विषयमा प्रतिवद्धता, संकल्प, आत्मसात्, ग्रहण, प्रण र बोध गर्दै प्रस्तुत प्रस्ताव परिमार्जन सहित केन्द्रीय कार्यसमितिले अन्तिम रूप दिने गरि सर्वसम्मत पारित गरिएको छ ।

१७. बैठकबाट प्राप्त विचार, धारणा र सुझावका आधारमा अन्तिम रूप दिई तयार हुने पार्टीको नीतिले नेपाल र नेपाली जनतामा पार्टीको स्पष्ट, नविन विचार र सांगठानिक कार्यक्रमको खाका पस्कने र यसबाट पार्टी सदस्य बीच उर्जा र उत्साह भर्दै मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक सामाजिक रूपान्तरण, धार्मिक सामाजिक एवं सांस्कृतिक सद्भाव वृद्धि गरि समाजमा सकारात्मक आशा, विश्वास र भरोसा जगाउनेछ ।

१८. यो ऐतिहासिक महासमितिको बैठकका सहभागी केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, ललितपुर, काठमाडौं र भक्तपुर जिल्लाका सभापति एवं पदाधिकारीहरू, सम्पूर्ण महासमिति सदस्यहरू, बैठक सफल पार्न विभिन्न उपसमितिमा रहि अहोरात्र कार्य गर्नुहुने भ्रातृ एवं शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव एवं सम्पूर्ण कर्मचारीहरू, चिकित्सक एवं स्वास्थकर्मी साथीहरू, यातायात व्यवसायीहरू, सांस्कृतिक तथा साङ्गीतिक झाँकी, गीत एवं नृत्य प्रस्तुतिमा सहभागी कलाकार साथीहरू, ललितपुर जिल्लाका स्थानीय जनप्रतिनधिहरू, सुरक्षाकर्मीहरू, अविछिन्न समाचार संकलन तथा सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याउन ुहुने सम्पूर्ण संचार माध्यमका प्रकाशक, सम्पादक एवं संचारकर्मी साथीहरूमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति तथा प्रचार प्रसार उपसमिति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछ ।

धन्यवाद् ! जय नेपाल !!

मीनबहादुर विश्वकर्मा
संयोजक— प्रचार प्रसार उपसमिति, महासमिति बैठक
एवं प्रमुख— सूचना, संचार तथा प्रचार विभाग

Published : Saturday, 2024 February 24, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया