सशस्त्रलाई रनिङ ट्रफी फुटबलको उपाधी

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरले आयोजना गरेको ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ ।

स्कुलको १९औँ स्थापना दिवस एवं प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न भएको हो ।

फुटबल प्रतियोगिताको फाईनल खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुरलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरले पराजित गरी उपाधी जितेको छ ।

महानिरीक्षक अर्यालले प्रतियोगिताका बिजेता तथा उपबिजेता टिम र उपाधी हासिल गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफी र पुरस्कार तथा रनिङ ट्रफी प्रदान गरेका छन् ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका दिपसन परियार उत्कृष्ट गोलरक्षक र नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका छन् भने सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट प्राप्त गरेका छन् । फेयर प्लेको उपाधी सैनिक आवासीय महाविद्यालयले प्राप्त गरेको छ ।

महानिरीक्षक अर्यालले खेलकुद शारिरीक तथा मानसिक विकासमा जीवनको एक अपरिहार्य तत्व रहेको उल्लेख गर्नुहुँदै खेलकुदले व्यक्तिलाई अनुशासित, चरित्रवान बनाउँदै सामुहिक एकता र सहकार्यको भावना विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेकोे थियो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षकशिक्षिका तथा विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2024 February 20, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया