पोखरा रंगशालालाई सञ्चालन गर्न कार्यदल

पोखरा । पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल शुरु गरेको छ ।

परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो ।

परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितिमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ ।

कार्यदलको सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका सदस्य विनय थापा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, जिल्ला खेलकुदकी सचिव कञ्चन थापा रहेका छन् ।

सदस्य सचिवमा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुनबहादुर लामा रहेका छन् ।

कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका पूर्व सदस्य सचिव तेजबहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली खेल विज्ञको रुपमा रहेका छन् । पोखरा महानगरको तर्फबाट एक जना प्रतिनिधि राखिएको छ ।

भदौ २८ गते काठमाडौंमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न राखेपको ११७औं बोर्ड बैठकले राखेप अन्तर्गत सात प्रदेशमा रहेका खेल पूर्वाधारहरु प्रदेश खेलकुद परिषद अन्तर्गत व्यवस्थापन गर्न निर्णय गरे बमोजिम प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापन र सञ्चालनका लागि पहल सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास ऐन २०७७ लागु भइसक्दा समेत पोखरा रंगशालामा लामो समयसम्म क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयको बोर्ड हटेको थिएन ।

राखेपको बोर्ड बैठकको निर्णय र मन्त्री लिम्वुको कडा निर्देशनपछि क्षेत्रीय कार्यालयको बोर्ड हटाइएको थियो ।

बैठकले पोखरा रंगशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गर्नुका साथै कर्मचारीहरूको व्यवस्थापन, शुरक्षा व्यवस्था, सरसफाई, शौचालयहरूको व्यवस्थापन, पानी, विद्युतलगायतका विषयलाई कार्यान्वयन गर्ने गरि अघि बढ्ने निर्णय समेत गरेको छ ।

Published : Monday, 2023 December 11, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया